News

बालेन्द्रलाई असफल बनाउन लागेका हुन रबि लामीछाने ?

बालेन्द्रलाई असफल बनाउन लागेका हुन रबि लामीछाने ?

मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको परिणाम आउने क्रम अझै जारी छ। तर, दलहरुले पाउने सिटसंख्याको रुपरेखा लगभग स्पष्ट भईसकेकाले दलका शिर्ष नेताहरु सरकार गठनको जोडघटाउमा लागेका छन् ।

तर, सर्वसाधारणको ध्यान भने सरकार गठन भन्दा पनि काठमाण्डौंको थापाथली स्थित सुकुम्वासी वस्ति र चितवनमा केन्द्रित छ। काठमाण्डौं महानगरपालिकाको डोजर आतंक तथा चितवनमा रवि लामिछाने र हरि ढकालको तामासाले अहिले सवैको ध्यान खिचेको छ।

सञ्चारकर्म छोडेर राजनितीमा छिरेका रवि लामिछानेको छबि बढिरहेको छ। उनले चितवनमा गएर ताण्डव नाच देखाईरहेका छन। सांसदको सफत ग्रहण नै नगरी कर्मचारी र ठेकेदार तर्साउन थालिसके। चितवन १ मा निर्वाचित सांसद हरि ढकालले पनि रविकै स्टाईलमा तमासा देखाईरहेका छन् ।

खासमा उनिहरुको हैसियत भनेको सांसद निर्बाचित मात्रै हो। सांसद पदको सफत समेत लिएका छैनन्। सपथ लिएपछि पनि उनीहरुको काम भनेको नीति निर्माण गर्ने हो। त्यसवाहेक निर्वाचन क्षेत्र विकास कोषको करिव ५ करोडको बजेट उनीहरुले परिचालन गर्न सक्छन् । कर्मचारी र ठेकेदार सांसदको मातहतमा आउने होईन। कर्मचारीलाई अनुरोध गर्न सक्छन, तर निर्देशन दिने औकात सांसदको होईन। तर, रविले कर्मचारी र ठेकेदारलाई थर्काउनेलगायतका तमासा गरिरहेका छन् ।

यो तमासाले खास गरी चितवनका ब्यवसायीहरु चिन्तित छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा जानु तथा सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र उमेश श्रेष्ठ जस्ता नेताहरुको पराजय हुनु चितवनको दुर्भाग्य भएको उनीहरुको वुझाई छ। 

नारायणगढमा रेस्टुरेन्ट चलाउदै आएका युवा व्यबसायी सुरुज तिवारी लेख्छन्–‘चितवन विकास क्रममा २० वर्ष पछाडि परिसक्यो। प्रचण्ड गोरखा जानु, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, उमेश श्रेष्ठ जस्ता पराजय हुनु। अव इस खाओ...।’

काठमाण्डौंमा उस्तै तमासा
काठमाण्डौँमा नामको अगाडि ‘बा’ भएका काठमाण्डौंका नगरपिता सुकुम्बासी बस्ती खाली गराउने काममा लागेका छन। खोलाको किनार सार्बजनिक सम्पति हो। काठमाण्डौंमा बागमती, बिस्णुमति र मनहराको कतिपय ठाउँमा सुकुम्बासी बस्ति छ। थापाथलीको युएन पार्कको सुकुम्बासी वस्तीमा भएको तनाबले काठमाण्डौंका ‘बा मेयर’ जोखिमपूर्ण काम गरिरहेका छन् ।

प्राय डोजर लिएर आफै निस्कने ‘बा मेयर’ सुकुम्बासी बस्ती हटाउन भने आफै फिल्डमा निस्केका छैनन्। आफै फिल्डमा निस्कने ‘बा मेयर’ को काम पनि होईन। त्यसमाथि स्थानीय तह निर्वाचन अघि उनले सकुम्वासी वस्तीमा गएर गरेको बाचाले पनि उनलाई डोजरसँग हिड्न दिएको छैन। चुनाव ताका उनले त्यहाँ पुगेर नियम विपरित सुकुम्वासी वस्ती हटाउन नदिने तर ब्यवस्थित गर्ने भन्दै दिएको अभिब्यक्ति अहिले सामाजिक संचालनमा चर्चामा छ। 

‘बा मेयर’लाई धम्की
‘बा’ मेयरको एक्सन बिरुद्द भूमिहीनहरुले अपशब्दको बर्षा गरेका छन् । सिरुपाते खुकुरी उझ्याएर हत्या गर्ने सम्मको धम्की दिएका छन् । सुकुम्वासी वस्तिमा डोजर चलाएर बालेन्द्रको घर आगो लगाउने धम्की समेत सुनिएका छन् ।

नगरप्रहरीको टाउको फुटेको छ। यसरी धम्कीको भाषा वोल्ने र खुकुरी लिएर अगाडि आउनेमा सुकुम्वासी भन्दा पनि हुकुम्वासी भएको तथ्यहरु वाहिरिएका छन् । कतिपय भूमिहीनहरु महँगो सवारीसाधन, ब्यापार÷ब्यबसाय भएका छन्। काठमाण्डौमा घर घडेरी भएका ब्यक्तिहरु पनि सुकुम्वावसी वस्तीमा जग्गा ओगटेर वसेको तथ्य बाहिरीरहेको छ। भूमिहीनहरुले कब्जा गरेको खोला किनारको जग्गा प्रतिआना ६० लाखदेखि १ करोड वा त्यो भन्दा पनि महँगो छ।  

‘बा’हरुको बादबिबाद 
‘बा मेयर’ले सुकुम्वासी वस्तिमा डोजर कुदाएको देखेपछि बालकोटका ‘बा’ अर्थात पुर्वप्रधानामन्त्री खड्क प्रसाद ओलीलाई रिसाए। बा मेयरको एक्सन उनलाई मन परेको थिएन। त्यसैले उनले प्रतिक्रिया जनाई हाले। ‘तपाईंहरुले हिजो देखिहाल्नु भयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनिहाल्नुभयो। प्रहरीले÷सरकारले सहयोग गरेन, सहयोग गरेको भए हामी उनीहरुलाई पराजित गथ्र्यौ।’ ओलीले भने–‘त्यो के गरेको, शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा। त्यहाँ कुन शत्रु बसेका छन?’ 

बालकोटबाट ‘बा’ को प्रतिक्रिया आएपछि ‘बा मेयर’ को पारो ताति हाल्यो। बाले आफु विरुद्ध सुकुम्वासी उचालेको महसुस गरेका ‘बा मेयर’ले फेसवुकमा चिठी लेखेर थर्काए। ‘अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला।’ भन्दै उनले बालाई चेतावनी दिए ।

‘०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन’ बा मेयरले लेखेका छन्–‘सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् ।’

रबी छबी जोगाउन मस्त
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्याकामा ४ सिट जितेको छ भने एमालेले दुई सिट। राष्ट्रिय स्वतन्त्र पार्टीलाई  सबैभन्दा धेरै भोट आएको स्थान नै काठमाण्डौ हो। एमालेका अध्यक्ष ओलीलाई मेयरको तमसा चित्त नबुझेर टिप्पणी गरिहाले। तर, गरिव र निमुखाका मसिहा बताउने रवि लामिछाने अहिलेसम्म बोलेकै छैनन्।

सुकुम्वासी समस्याका विषयमा रविको धारणा के हो ? काठमाडौँ २, ६ र ७ तथा ललितपुर ३ का निर्वाचित सांसदहरु सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, तोसीमा कार्की के गर्दै छन ? चितवनमा तमासा गर्ने र गरिव जनताका लागि काम गर्छौ भन्ने रवि अहिलेसम्म किन बोलेका छैनन्। सुकुम्वासीहरु नै समस्या हुन भने मेयर बालेन्द्रले गरेको राम्रो काममा समर्थन किन नगरेको? जस्ता प्रश्न अहिले रवितिर सोझिएका छन् ।

कतिपयले रविले सुकुम्वासीका पक्षमा वोलिदिउन भन्ने चाहेका छन् भने कतिपयले भने बालेन्द्रको काममा सहयोग गरुन भन्ने चाहेका छन् । कतिपयले त रबि ओफनो छबी जोगाउन मस्त रहेको आरोप समेत लगाउन थालेका छन् । राजधानीको यस्तो समस्यामा रविले केही नबोल्नुले बालेन्द्रलाई असहयोग गरेको प्रमाणित भएको उनिहरुको भनाई छ। 

सुकुम्बासी भनेको के हो?

‘शब्दकोष अनुसार सुकुम्वासीको अर्थ सुकुमबास भएको, घरबार, जायजेथा केही पनि नभएको (ब्यक्ति), घरजग्गा नभएको रैती, घरवाससम्म भएको तर खेती नभएको रैती’ भन्ने वुझिन्छ।

तर, मधेस प्रदेशका पूर्वप्रदेस प्रमुख डा राजेश अहिराजले भने सुकुम्बासीलाई फरक ढंगले अथ्र्याएका छन् । उनका अनुसार सिक्किमबासीलाई पहिला सुखिमबासी भनिन्थ्यो । कुनै कालखण्डमा सुखिमबासीलाई तत्कालीन सत्ताले दवावपुर्ण रुपमा सिक्किमबाट खेदाउँदा हाम्रो नेपालले आश्रय दिएको थियो। आश्रय स्थानलाई ‘सुखिमवास’ भनिन्थ्यो। आज त्यो शब्द सुखिमवासी हुँदै सुकुम्बासी भए र धेरैले आफूलाई सुकुम्बासी भएको दावी गर्न थाले। यो प्रमाणित कुरा नभए पनि शब्द निर्माणको प्रकृया र सुकुम्वासीको अवस्था हेर्दा यो विषय अध्ययन र छानविनको विषय भने हुन सक्छन्।

रवि लामिछाने बालेन्द्र साह हरि ढकाल

विशेष