News

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभाको निर्वाचन परिणाम

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभाको निर्वाचन परिणाम

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण पेस गरेको छ।

बिहीबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएका हुन।
 
आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो।

आयोगले निर्वाचनको प्रतिवेदन बुझाइसकेपछि नयाँ सरकार गठनको तयारी सुरु हुने छ। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएका थिए । जसमध्ये प्रत्यक्षतर्फ ६१ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भए।

यसपटकको निर्वाचनबाट प्रतिनिधि सभामा ११ दलका सांसदहरु रहने छन् । तर राष्ट्रिय दलको मान्यता भने ७ वटा पार्टीले मात्र पाएका छन् । प्रतिनिधि सभामा नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकबाट ३२ सहित कूल ८९ सिट जितेको छ । दोस्रो दल बनेको नेकपा एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सहित ७८ सिट जितेको छ । तेस्रो दल बनेको माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकबाट १४ सहित ३२ सिट जितेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो, राप्रपा पाँचौं, जसपा छैटौं र जनमत पार्टी सातौं दल बनेका छन् । रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सहित कूल २० सिट जितेको छ ।

प्रत्यक्ष र समानुपातिकमा समान ७÷७ जितेको राप्रपाका कूल १४ सांसद रहने छन् । जसपाका प्रत्यक्षमा ७ र समानुपातिकबाट ५ गरी कूल १२ तथा जनमत पार्टीका प्रत्यक्षमा १ र समानुपातिकबाट ५ गरी कूल ६ सदस्य प्रतिनिधि सभामा रहने छन् ।

प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा र १ सिट जितेको राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड नकटाएकाले समानुपातिकबाट एक सिट पनि पाएनन् ।
 

विशेष