News

सत्ता साझेदारीमा प्रधानमन्त्री आलोपालो तर राष्ट्रपति नछाड्ने एमालेको जोड

सत्ता साझेदारीमा प्रधानमन्त्री आलोपालो तर राष्ट्रपति नछाड्ने एमालेको जोड

निर्वाचन आयोगले आज एक कार्यक्रमको आयोजना गरी प्रतिनिधि सभाको निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वुझाएको छ।

आयोगले निर्वाचनको प्रतिवेदन बुझाइसकेपछि अव नयाँ सरकार गठनको तयारी समेत जोडतोडले चल्ने छ। दलहरु एकअर्काको सहयोग लिएर वहुमत पुर्याउने चक्करमा छन्। वहुमत पुर्याउनकै लागि हत्या आरोपमा जेल सजाय पाईरहेका ब्यक्तिलाई राजनीतिक रङ दिएर जेलमुक्त गर्ने प्रयास समेत सुरु भएका छन् ।

खास गरी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गर्न आतुर छन्। सोही अनुसार राजनीतिक जोडघटाउनमा नेताहरु दौडधुप गरिरहेका छन् । एक सय ५० सिट जित्ने र एकल सरकार बनाउने भन्दै चुनावमा होमिएको नेकपा एमालेले सोचेजस्तो सफलता प्राप्त गर्न सकेन। तर, सत्तारुढ गठबन्धनले बहुमत पुर्याउन नसकेकाले एमालेलाई पनि सरकार गठनको अवसर भने छ।

एमालेका शीर्ष नेताहरुले विभिन्न दलका नेताहरुसँग अनौपचारिक÷औपचारिक छलफल गरिरहेका छन्। प्रतिनिधि सभातर्फ ७८ सिट जितेको एमालेले अन्य दलसँग गठबन्धन गरी बहुमत पुर्याउने कसरत गरिरहेको छ।

संसदमा रहेका सबै राजनीतिक दलका नेतासँग एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु तथा स्थायी समिति सदस्यहरुले राजनीतिक छलफल र भेटवार्ता गरिरहेका छन्। 

एमाले अन्य दलसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा सत्ता साझेदारीका लागि तयार देखिएको छ। तर, राष्ट्रपति भने नछाड्ने एमालेको भनाइ छ। दीर्घकालिन महत्व बोकेको राष्ट्रपति पद ‘नछाड्ने बरु प्रधानमन्त्रीमा आलोपालो गर्न सकिने’ एमालेका एक पदाधिकारीले बताए।

‘राष्ट्रपति आफैंले राखेर प्रधानमन्त्री आधाआधा गर्न सकिन्छ,’ अध्यक्ष केपी शर्मा ओली निकट ती पदाधिकारीले भने, ‘सेरेमोनियल भए पनि राष्ट्रपतिको कार्यकाल पाँच वर्ष हुन्छ, त्यो पदको दीर्घकालीन महत्व र शक्ति छ।’ 

राष्ट्रपति पाएको हकमा पाँच वर्षको पहिलो कार्यकालको प्रधानमन्त्री अन्य दललाई दिन सकिने अध्यक्ष ओलीले संकेत गरेको ती पदाधिकारीले बताए।

प्रधानमन्त्रीका रुपमा २ वर्ष, साढे २ वर्ष वा ३ वर्ष काम गर्ने र त्यसपछि अर्काेलाई दिने प्रस्ताव एमालेले गर्ने ती नेताले बताए। एमालेका उपमहासचिव विष्णु रिमालले पनि त्यसको संकेत गरेका छन्। 

‘प्रधानमन्त्री अंकगणित र गठबन्धनको हिसाबले तय हुन्छ,’ रिमालले भने, ‘त्यसबाहेक राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख र सभामुखहरु साझा भूमिका निर्वाह गर्ने महत्वपूर्ण अंग हुन्। त्यसले ल्याउने असमझदारीले मुलुकमा अस्थिरता आउँछ।’

विशेष