पल र सन्दिपको उदाहरण दिदै बलात्कार सम्बन्धी कानुन संसोधन गर्न माग
![पल र सन्दिपको उदाहरण दिदै बलात्कार सम्बन्धी कानुन संसोधन गर्न माग](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/12/pal-sandeep.jpg)
नायक पल शाह र क्रिकेटर सन्दिप लामिछानेको प्रकरणलाई देखाएर सहमतिमै यौन सम्पर्क गरेपनि जवर्जस्ती करणी ठहर हुने कानुनी व्यवस्था संशोधन गर्न माग सुरु भएको छ ।
समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले प्रधानमन्त्री कार्यालयमा पठाएको निवेदनमा मलुकी अपराध संहिता २०७४ को परिच्छेद–१८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उप दफा (२) संशोधन गर्न माग गरेका छन्।
सो दफामा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती बलात्कार गरेको मानिनेछ’ भनेर उल्लेख छ।
सफलले नेपालको संविधान, नागरिकता ऐन तथा नियमावलीले कुनै पनि व्यक्तिले नागरिकता प्राप्त गर्न सक्ने उमेर भनेर १६ वर्षलाई किटान गरेको उल्लेख गर्दै संवैधानिक व्यवस्थाले नै १६ वर्ष उमेर पुगेका पुरुष र महिलालाई समान रुपमा नागरिक मानेको र उनीहरुलाई समान रुपमा नै नागरिकता लिने दिने व्यबस्था गरेकाले १८ वर्ष मुनिका महिलाको सहमतिमा भएको यौन सम्वन्धलाई बलात्कार भन्न नमिल्ने वताईएको छ।
‘माथि उल्लेखित प्रावधान हेर्दा सो प्रावधान संविधानको मर्म, भावना र व्यबस्थाको विरुद्धमा भएको र त्यस्ले भ्रम सिर्जना गरेको प्रष्ट देखिन्छ । तसर्थ त्यसलाई निम्नानुसार संशोधन गर्न आवश्यक देखिएकोले सोही बमोजिम सरकारबाट अध्यादेश ल्याई संशोधन गर्नुहुन समाजवादी केन्द्र नेपालको सर्वोच्च नेताको हैसियतमा आग्रह गर्न चाहन्छु’ उनले दिएको निवेदनमा उल्लेख छ।
सफलले सो व्यवस्था अन्तर्गत १८ वर्षको ठाउँमा १६ वर्ष कायम गर्न पनि माग गरेका छन्। ‘यस्तै सहमतिमै १८ वर्षकी नाबालिकासँग शारीरिक सम्बन्ध राखेको कारण नेपाली सिने जगतका नायक पल शाह र नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछाने पुर्पक्षको लागि जेल चलान भएका छन’ उनले निवेदनमा उल्लेख गरेका छन्, ‘अतः माथि उल्लेखित बँुदा एवम् व्यबस्था बमोजिम मुलुकी अपराध संहिता २०७४ संशोधन गर्न विशेष अध्यादेश ल्याउन समेत म आग्रह गर्दछु। र सोही अध्यादेशको आधारमा तत्काल नायक पल शाह र क्रिकेटर सन्दिप लामिछानेलाई तत्काल जेलमुक्त गरी क्रमश नेपाली सिने क्षेत्र र नेपाली क्रिकेट क्षेत्रको विकास गरी अन्तर्राष्ट्रिय रुपमा नेपाल र नेपालीलाई चिनाउने कार्यमा सहयोग गर्न अनुरोध गर्दछु।’