News

दलको नेता बन्ने लडाईले ‘शेखर–गगन’ सिद्धिने खतरा

दलको नेता बन्ने लडाईले ‘शेखर–गगन’ सिद्धिने खतरा

नेपाली कांग्रेसमा संसदिय दलको नेताका लागि लडाई सुरु भएको छ। प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, शशांक कोईराला, प्रकाशमान सिंह तथा गगन थापाले संसदिय दलको नेताका लागि दावी गरिरहेका छन् ।

तर, नेता डा. शेखर कोइरालाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी गरेपछि गगन थापाको भने सम्भावना कम हुँदै गएको छ। संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा आफैं दाबेदार हुन् भने शेखर समूहका महामन्त्री गगनकुमार थापाले चुनावताका नै दलको नेता लड्ने घोषणा गरेका थिए । डा. शेखरले औपचारिक रुपमा त केही बोलेका छैनन्, तर समूहका नेताहरुसँग हुने आन्तरिक भेटघाटहरुमा दलको नेता लड्ने प्रष्ट संकेत दिएका छन् ।

एक नेताका अनुसार संसदीय दलको अंकगणित हेर्दा दलको नेतामा देउवाको जित निश्चितजस्तै छ । गगनका ससुरासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुनरसिंह केसीलगायतका नेताहरुले समूहका नेताहरुसँग निरन्तर सम्वाद गरेका छन् । तर सहमतिको संकेत देखिएको छैन । शेखर र उनी निकट नेताहरु गगनलाई संसदीय दलको नेताको उम्मेदवार छाड्न तयार छैनन् ।

समूहका नेताहरुसँग छलफल नै नगरी संसदीय दलको नेताको उम्मेदवारका रुपमा अघि सारेकोमा असन्तुष्ट नेताहरु गगनको पुस्तान्तरणको नारामा समेत रुष्ट छन् । ‘हाम्रो ट्रेन हिँड्यो, बस्ने भए आउनुस्, नभए छुट्यो भन्ने जुन शैली ठीक भएन,’ शेखर निकट एक नेता भन्छन् ।

उनीहरु गगनको अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग बढ्दो समिप्यतालाई लिएर समेत प्रश्न गर्छन् । गगनले दलको नेता लड्ने घोषणा गरेपछि शर्माले सार्वजनिक रुपमै समर्थन गरेका छन् । झापा क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित शर्माले गगन प्रस्तावक नै बस्ने बताउने गरेका छन् । त्यसमा प्रश्न गर्दै शेखर समूहका एक नेता भन्छन्, ‘गगन नै दलको नेता लड्ने भए शेखर कोइराला प्रस्ताव बस्ने होला, धनराज गुरुङहरु बस्ने होला, विश्वप्रकाश होइन ।’

उनीहरुका अनुसार अब महामन्त्री गगन आफ्नो निर्णयमा पुनर्विचार गर्न तयार हुने हो भने सहमति खोज्न सकिन्छ । नभए डा. शेखरले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने छन् ।

महामन्त्री गगन भने १५औं महाधिवेशनमा शेखरलाई सभापतिमा समर्थन गर्ने बचन दिन तयार छन् । तर संसदीय दलको नेताको चुनाव लड्छु भनेर काठमाडौं–४ का मतदातासँग गरेको बाचामा चुक्न तयार छैनन् । यही अवस्था रहे यो समूह नै नरहने अवस्था आउने एक नेता बताउँछन् ।
 

विशेष