News

एमालेलाई देखाएर एकअर्कालाई तर्साउँदै देउवा र प्रचण्ड

एमालेलाई देखाएर एकअर्कालाई तर्साउँदै देउवा र प्रचण्ड

सत्ता गठवन्धनमा प्रधानमन्त्री बन्न शेरवहादुर देउवा र पुष्पकमल दाहालको तँछाडमँछाड सुरु भएको छ। पहिलो पालोमा प्रधानमन्त्री बन्न चाहेका देउवा र दाहाल दुवै ले एमालेलाई देखाएर एकअर्कालाई गलाउन खोजिरहेका छन् ।

देउवाले सहजै प्रधानमन्त्री पद नछाड्ने देखेपछि माओवादी नेताहरुले एमाले नेताहरुसँग निरन्तर सम्वाद गरिरहेका छन् । एमाले नेताहरुसँग निरन्तर सम्वादमा रहेका दाहालले आइतबार पार्टी महासचिव देव गुरुङलाई एमाले अध्यक्ष ओलीलाई भेट्न पठाएका थिए ।

यस्ता भेटवार्तापछि माओवादी नेताहरुले दाहाललाई समर्थन गर्न एमाले तयार रहेको सन्देश दिने गरेका छन् । दाहालको उदेश्य भनेको यस्ता भेटघाटलाई देखाएर देउवालाई तर्साउने र आफुलाई प्रधानमन्त्री बनाउन मनाउनु भएको वताईन्छ।

त्यसको काउन्टरमा कांग्रेस नेताहरुले पनि एमालेसँग सम्वाद थालेका छन् । उनीहरुका अनुसार एमाले नेताहरुले कांग्रेसलाई एक्लै सरकार बनाए फ्लोरबाट समर्थन गर्ने सन्देश दिइरहेका छन् । एमालेको ७८ थपिदिए १६७ सांसद हुने र दुई वर्ष ढुक्कले सरकार चलाए हुन्छ भन्ने संकेत कांग्रेसले एमालेबाट पाएको छ।

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभा (संसद) बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादमा पनि देउवा र दाहालले एमाले कार्ड प्रयोग गरेर एकाअर्कालाई गलाउने प्रयास गरेका थिए । माओवादी नेतृत्व एमसीसी अनुमोदन नगर्ने पक्षमा उभिएपछि प्रधानमन्त्री देउवा, कांग्रेसका पदाधिकारीहरुलाई लिएर निरन्तर बालकोट पुगेर वार्ता गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि पार्टी पदाधिकारीहरुसहित एमाले अध्यक्ष ओलीलाई भेटेर सहकार्यको प्रस्ताव राखेका थिए । तर ओली एमसीसी रोक्ने पक्षमा नदेखिएपछि दाहाल गले र १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै अमेरिकी सहयोग परियोजना संसदबाट अनुमोदन भएको थियो ।

कांग्रेसकै अर्का एक नेताका अनुसार देउवाले अहिले पनि दाहाललाई प्रधानमन्त्री छाड्न तयार देखिएका छैनन् । किनकी दाहाललाई प्रधानमन्त्रीमा पालो दिँदा प्रधानमन्त्रीका लागि दुई÷साढे २ वर्ष कुर्ने वा राष्ट्रपति बन्ने विकल्प रहन्छ ।

राष्ट्र प्रमुख भएर शीतल निवास जाँदा प्रधानमन्त्री र राष्ट्रपति दुबै पदमा पुग्ने नेपालकै पहिलो नेता त बन्ने छन्, तर उनले पत्नी आरजु देउवालाई पार्टी राजनीतिमा स्थापित गर्ने अभियानमा ब्रेक लाग्ने छ । शायद त्यसैले होला, देउवाले संसदीय दलको चुनाव लड्छु भनेर राष्ट्रपति बन्ने ढोका बन्द गरिसकेका छन् ।

अब उनीसामू प्रचण्डलाई प्रधानमन्त्रीमा पालो दिने, दाहाललाई मनाएर आफैं प्रधानमन्त्री हुने वा एमालेको समर्थन खोज्ने विकल्प बाँकी छ । 

दाहाललाई दोस्रो पालोमा प्रधानमन्त्री हुने गरी मनाउन पनि सजिलो छैन । त्यो बेला एमालेको समर्थनमा संविधानको धारा ७६(३) अनुसार अल्पमतको सरकार बनाउने विकल्प कांग्रेससँग रहनेछ ।

एमालेका एक पदाधिकारीका अनुसार कांग्रेस प्रमुख प्रतिस्पर्धी भएकाले मिल्नुहुन्न भन्ने मत पार्टीमा बलियो छ । तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालको तिक्ततापूर्ण सम्बन्धका कारण ओली र दाहालको एकअर्काप्रति विश्वास टुटेको छ ।
 

विशेष