News

प्रचण्डको पर्दाफासः देउवासँग कुरा नमिले ओलीसँग मिलेर प्रधानमन्त्री

प्रचण्डको पर्दाफासः देउवासँग कुरा नमिले ओलीसँग मिलेर प्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्न नयाँ रणनीति अघि सारेका छन् । उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, जसपा, सिके राउत नेतृत्वको जनमत पार्टीसहित स्वतन्त्र उम्मेदवार प्रभु शाह र किरण साहसमेत आफूसँग रहेको देखाएर कांग्रेसमाथि दबाब बढाइरहेका छन्।

रणनीतिक मूभ चालेका प्रचण्डले राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको दाबी गर्दै आइरहेका छन् । प्रचण्डले आफू छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेकोसमेत सार्वजनिक रूपमै बताउँदै आइरहेका छन् ।

बुधवार आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भनेका थिए, ‘तपाईँको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु । यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु ।’

कांग्रेसबाट नेतृत्व लिनका लागि आफूसँग ६० सांसदको बल रहेको उनको भनाइ छ । प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै भनेका थिए, ‘मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग छ । माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो, जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।’

उनले गठबन्धनमा सरकारको नेतृत्वको विषयमा आलोपालो हुने प्रष्ट पारेका छन् तर पहिलो प्रधानमन्त्री आफु नै हुनु पर्ने उनको अडान छ। ‘६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिन्छौँ, सरकार त्यहीँ बन्छ,’ उनको भनाइ थियो ।

चुनावबाट अपेक्षाअनुसारको सीट नपाएपनि दाहालले आफूलाई शक्तिमा कायमै राख्ने प्रयास गरिरहेका छन् । पहिलाको झैँ माओवादी तेस्रो शक्ति कायमै रहे पनि सरकार गठनको लागि एक मात्रै शक्तिको रूपमा स्थापित भइराख्न सकेन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले पनि उल्लेख्य सीट ल्याएपछि माओवादीलाई केही हदसम्म धक्का लागेको छ । तर,  उनले जसपालाई पनि आफूसँग नजिक बनाएका छन् ।

जसपाले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेको भए पनि जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य टुंगिसकेको बताएका छन् । उपेन्द्र पनि प्रचण्ड मोर्चामा सहभागी हुन सकारात्मक छन् ।

यसो गर्दा दाहालसँग आफ्नो ३२, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६ सीटसहित केही स्वतन्त्र सांसदको पनि साथ पाउने विश्वास राखेका छन् । करिब ६० सीटसहित आफूलाई निर्णायक शक्तिको रूपमा स्थापित गरेर उनले ८९ सीट जितेको कांग्रेसमाथि नेतृत्वको दाबी गर्ने तयारी गरेका हुन् ।

अर्कोतर्फ कांग्रेस तयार नभए एमालेसँग मिलेर भएपनि प्रधानमन्त्री हुने दाहालको योजना छ। एमालेले ७८, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपा १४, लोसपाले ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १÷१ सीट जिते भने ५ स्वतन्त्र सांसद बनेका छन् ।

आलोपालो हुँदा अहिले दाहालले नै प्रधानमन्त्री पाउने माओवादी नेताहरु बताउँछन्। एमालेसँग पनि छलफल भईरहेको छ। एमालेले माओवादीलाई गठबन्धन बाहिर ल्याएर आफूसँग सत्ता सहकार्य गराउन खोजेको छ । तर, ०७४ मा ओलीले आलोपालो सहमतिमा इमान्दारिता नदेखाएपछि माओवादी त्यसबारे सचेत छ । एमालेले माओवादीलाई गठबन्धनबाट बाहिर ल्याउनका लागि पहिलो कार्यकाल प्रधानमन्त्री दिने आश्वासन पठाएको स्रोतको दाबी छ ।
 

विशेष