News

विहारमा विशाक्त मदिरा खाएर ४३ जनाको मृत्यु

विहारमा विशाक्त मदिरा खाएर ४३ जनाको मृत्यु

विहारमा विशाक्त मदिरा खाएर ४३ जनाको मृत्यु भएको छ। विहारमा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारप्रसार तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।

मुख्यमन्त्री नितिश कुमारले ७ वर्षअगाडि बिहारलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका थिए । तर, मदिरा निषेधित त्यही बिहारमा ‘विषालु रक्सी’ सेवनले मृत्यु हुनेको संख्या डरलाग्दो छ । पछिल्लो दुई दिनमा सारण जिल्लामा रक्सी सेवनकै कारण मृत्यु हुने संख्या ४३ पुगेको छ ।

छपराको मसरक बजारमा यतिबेला शोक छाएको छ भने स्थानीय अस्पतालको बेडमा रक्सी सेवनकै कारण मृत्यु हुनेको संख्या एकपछि अर्को थपिँदै गएको छ । उपचारका लागि आउनेको क्रम रोकिएको छैन । मंगलबार मध्यरातिबाट बिरामी आउन सुरु भएको थियो । जुन अझै थामिएको छैन । पछिल्लो दुई दिनमा हरेक एक घण्टामा रक्सी सेवन गरेका व्यक्तिको अस्पतालमा मृत्यु भएको देखिएको छ ।

छपराको यो घटनाले बिहारको राजनीतिलाई तताएको छ । नितिश कुमारको मदिरा निषेध कार्यक्रम फेल रहेको विपक्षीहरूले आरोप लगाएका छन् । प्रहरी प्रशासन र राज्य संयन्त्रकै संरक्षकमा रक्सीको उत्पादन तथा तस्करी भइरहेको आरोप छ ।

रक्सीको सेवन आफैंमा दण्डनीय अपराध रहेकाले कतिपय मानिस अस्पतालसमेत पुगेका छैनन् । स्थानीय प्रशासनले घरघर पुगेर बिरामीलाई अस्पताल ल्याउने कोसिस थालेको छ । प्रशासनले माइकिङ गरेर उपचारका लागि आउन आह्वान गर्दै छ । मसरक सहरभन्दा तीन किलोमिटर वरिपरिको क्षेत्रमा एकै दिन भएका उक्त घटनाले रक्सीको उत्पादन कुनै एकै स्थानबाट भएको हुन सक्ने प्रशासनको अनुमान छ । प्रहरी प्रशासनले घटनाको छानबिनका क्रममा १ सय २६ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ ।

अहिलेसम्म उक्त विषालु रक्सी कहाँबाट आएको हो, खुल्न सकेको छैन ।
 

विशेष