News

ओलीको दौडधुपः वाम गठबन्धन बनाउने, प्रचण्ड पहिलो प्रधानमन्त्री

ओलीको दौडधुपः वाम गठबन्धन बनाउने, प्रचण्ड पहिलो प्रधानमन्त्री

नेकपा एमालेले माओवादी सहितका दल मिलाएर गठबन्धन बनाउने र सरकार निर्माण गर्ने प्रयास सुरु गरेको छ। एमालेले कांग्रेससँगको गठबन्धनमा रहेको माओवादीलाई आफूतिर तान्न सके सरकार बन्ने सम्भावना बलियो हुने देखेपछि नेताहरुले दौडधुप गरिरहेका छन् ।

एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन तयार रहेको सन्देश पनि पठाई सकेका छन् । प्राकृतिक गठबन्धन बनाउनुपर्ने भन्दै एमालेले वाम शक्ति एक ठाउँमा उभिनुपर्ने तर्क गरेको छ। त्यसो हुँदा आफुले राष्ट्रपति लिएर दाहाललाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन सकिने प्रस्ताव एमालेले दिएको विभिन्न उच्च स्रोतहरूले पुष्टी गरेका छन्।   

कांग्रेससँगको गठबन्धनमा दाहालले पहिले आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने दाबी गरिरहेका छन्। यदि पहिले दाहाललाई प्रधानमन्त्री दिन शेरबहादुर देउवा सहमत भए उनी एमालेतिर नजाने धेरैको अनुमान छ। तर, कांग्रेस तयार नभए ओलीको प्रश्ताव मानेर दाहाल एमालेतिर लाग्न सक्ने सम्भावना पनि प्रबल छ।

एमाले अध्यक्ष ओलीले आफ्ना विश्वासिला नेताहरुलाई दाहालसँग संवाद गराईरहेका छन् । यद्यपी एमालेका नेताहरु कांग्रेससँग पनि संवादमै छन् । दोस्रो तहका नेताहरुले ओली र प्रचण्डबीच भेटवार्ता गराउने प्रयास पनि गरिरहेको स्रोतको दाबी छ। निर्वाचन सम्पन्न भएयता ओली र प्रचण्डबीच फोनमा बधाई साटासाट भएपनि प्रत्यक्ष संवाद भएको खुलेको छैन। 

यता, एमाले कांग्रेस मिलेर सरकार गठन हुनेमा दाहाल विश्वस्त छैनन् । कांग्रेस गठबन्धन तोड्ने पक्षमा नभएको, गठबन्धनबाट सरकार निर्माण गर्ने वचन दिएकोले विकल्प सोच्ने पक्षमा आफू नभएको दाहालले निकटस्थहरुलाई बताउँदै आएका छन्। एमालेका नेताहरूसँग निरन्तर भेटपछि पनि उनले आफ्नो यो भनाइ परिवर्तन गरेका छैनन्। यसका पछाडि नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कारण रहेको जानकारहरु बताउँछन्।

दाहाललाई माधव नेपालले रोकिराखेको विश्लेषण एमालेका केही नेताहरुको छ। यद्यपी एमालेका उच्च तहका नेताहरुले नयाँ गठबन्धन सरकार बनाउने उदेश्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई फकाई रहेको श्रोतको दावी छ।

तर, ओलीको प्रस्तावमा दाहाल विश्वस्त हुन सकेका छैनन्। ०७४ को निर्वाचपछि आलोपालो प्रधानमन्त्री बन्ने सहमति तोडेर ओलीले विश्वास गुमाएको दाहालको तर्क छ। दाहाललाई विश्वास दिलाउन एमालेका उपाध्यक्षद्वय विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठसमेत खुमलटार पुगिसकेका छन्।

माओवादीसँग एमालेले गम्भीर र निर्णायक वार्ता गरेर सहमति गराउने कोसिस गरिरहेको ओलीनिकट ए नेताले बताए। विगत दुई हप्तामा माओवादीसँग बाक्लो छलफल भएको उनको भनाइ छ। 

२०७७ पुस ५ देखि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच सम्बन्ध राम्रो छैन। त्यही बिग्रेको सम्बन्ध राम्रो बनाउने प्रयासमा एमाले छ। त्यतिमात्र होइन दाहाललाई विश्वास दिलाउन दलबाहिरका केही व्यक्ति समेत लागेका छन्।

विशेष