News

बोली ठेगानमा नहुँदा विवादमा परिन सांसद सोविदा गौतम

बोली ठेगानमा नहुँदा विवादमा परिन सांसद सोविदा गौतम

सांसद सोविता गौतमले चार वर्ष अघिको अभिब्यक्तिलाई लिएर अहिले पश्चाताप गरेकी छन्। उनले चार वर्षअघि दिएको एउटा अन्तर्वार्तामा बलात्कारको घटनाबारे असंवेदनशील टिप्पणी गरेकी थिइन् ।

उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। गौतमले अन्तर्वार्तामा ‘बलात्कार सामान्य हो । यसले महिलाको शरीलाई कुनै हानी नोक्सानी हुँदैन’ भन्दै अभिब्यक्ति दिएकी थिईन। त्यसका साथै बलात्कारको विषयमा महिलाहरू धेरै भावुक भएको र केहीले बलात्कारको नाममा डलर ल्याउने गरेको टिप्पणी गरेकी थिइन् ।

सोही अन्तरवार्ताका विषयमा अहिले उनले थुप्रै प्रश्नको सामना गर्नु परेको छ । त्यसपछि उनले ट्वीटरमा स्पष्टीकरण दिंदै लेखेकी छन्, ‘यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।’

चार वर्ष अगाडि आफूले दिएको अभिव्यक्तिको आशय भने गलत नभएको उनको तर्क छ । तर, अहिले आफ्नो अध्ययन, अनुभवले आफ्नो बुझाइ परिष्कृत भएकोले अहिले उक्त उदाहरण प्रयोग नगर्ने उल्लेख गरेकी छन् । ‘मेरो बुझाइ अहिले परिष्कृत भएको छ । पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर ‘सर्वाइवर’ वा ‘प्रभावित’ शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो ।’– उनले भनेकी छिन्।

गौतमले यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वभाविक व्यवहार गर्दा पुनर्स्थापनामासहज हुन्छ भन्ने आशय व्यक्त गरेको तर यसैमाथि प्रश्न उठेको कुरा मनन् गरेको बताएकी छन्।
 

विशेष