News

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नदिने, आफनै नेतृत्वमा सरकार गठनको पहल

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नदिने, आफनै नेतृत्वमा सरकार गठनको पहल

सत्ता गठबन्धनमा प्रधानमन्त्रीका लागि हानाथाप भईरहेका वेला नेपाली कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अन्य दलहरुसँग संवाद थाल्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो । गठबन्धनको अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

दाहालले पहिलो पालोमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको कांग्रेसले बताएको छ । तर ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने विषयमा गठबन्धनभित्र र अन्य दलहरुसँग पनि छलफल गर्ने नेताहरुले बताएका छन् ।

संविधानको व्यवस्थाबमोजिम ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाविक भएकाले गठबन्धन र अन्य दलहरुसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद प्रारम्भ गर्ने निर्णय भएको जनाईएको छ।

‘संविधानको व्यवस्थाबमोजिम सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक हुन्छ’ प्रवक्ता प्रकाशशरण महतले भने–‘त्यस अर्थमा नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनमा रहेका दलहरु लगायत अन्य दलसँगसमेत संवाद, वार्ता छलफल प्रक्रिया प्रारम्भ गर्ने बैठकले निर्णय गरेको छ।’

बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली रहेका छन् ।
 

विशेष