दलको नेता टुङ्गो लगाउन शेखर–गगन समुहको बैठक जारी
![दलको नेता टुङ्गो लगाउन शेखर–गगन समुहको बैठक जारी](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/12/shekhar-gagan.jpg)
संसदीय दलको नेता छान्ने विषयमा कांग्रेसको शेखर–गगन समुहमा महाभारत सुरु भएको छ। यही विषय टुङ्गो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवाको इतर समूहले निर्णायक छलफल थालेको छ ।
कांग्रेस महामन्त्री गगन थापाले देउवालाई संसदीय दल नेतामा चुनौती दिनेगरी तयारी थाले पनि डा. शेखर कोइरालाले समेत दलको नेतामा इच्छा देखाएपछि दुई नेताहरुबीच असमझदारीको अवस्था थियो। उनीहरुका छलफलहरु अनिर्णित थिए ।
उपसभापति धनराज गुरुङले आफ्नो पहलमा आज राजधानीको होटल एम्बासडरमा छुट्टाछुट्टै बैठकहरु राखेका हुन् । बिहानैदेखि चलेका अलग अलग मिटिङका सुरु चरणमा थापा र कोइराला दुवैलाई सहभागी गराइएन ।
आकांक्षीहरुलाई बेग्लै राख्दा सहमति जुट्न सहज होला भन्ने लागेर त्यस्तो उपाय लगाइएको सहभागी एक नेताले बताए । सम्भवतः दुई मध्ये एक नेता आजै दलको नेता आकांक्षीबाट बाहिरिने सम्भावना रहेको उनले बताए ।
थापालाई दलको नेता प्रस्ताव गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने यस छलफलमा सहभागी छैनन् । गुरुङसहित चन्द्र भण्डारी, बलबहादुर केसी, हृदयराम थानी लगायत नेता होटल एम्बासडरमा सहभागी छन् ।
महामन्त्री थापाका एक निकटस्थले संसदीय दल नेतामा थापाले धेरै अघि आकांक्षा राखेको, अर्का महामन्त्री शर्मासमेतले खुला समर्थन गरेको हुँदा उनले उम्मेदवारी छाड्ने सम्भावना शुन्यप्रायः रहेको बताए ।