News

तीन वर्षमा विदेशमा ज्यान गुमाउनेको संख्या ३१९९, सवैभन्दा धेरै मधेशका

तीन वर्षमा विदेशमा ज्यान गुमाउनेको संख्या ३१९९, सवैभन्दा धेरै मधेशका

वैदेशीक रोजगारीका लागि विभिन्न देशमा पुगेका मध्ये विगत तीन वर्षमा ३ हजार १९९ नेपाली युवाहरूले ज्यान गुमाएका छन्। यसैगरी, विभिन्न मुलुकका अस्पतालमा गरी १६ जना नेपालीहरू जटिल अवस्थामा कोमामा उपचाररत छन्।

सन् २०१९/०२० देखि २०२२ सम्म ८४ जना महिला र ३ हजार ११५ जना पुरूषले गरी ३ हजार १९९ जनाले विदेशी भुमिमा ज्यान गुमाएको सरकारले आइतबार सार्वजनिक गरेको श्रम, आप्रवासन प्रतिवेदन २०२२ मा उल्लेख छ।

मृत्यु हुनेहरुमा प्रदेश १ का ७०९ जना, मधेश प्रदेशका ७५१ जना, लुम्बिनी प्रदेशका ६७७, गण्डकी प्रदेशका ४७८, बागमती प्रदेशका ४०९ जना, कर्णाली प्रदेशका ११० र सुदूरपश्चिम प्रदेशका ५६ युवा छन्। 

पछिल्लो वर्ष विभिन्न मुलुकका अस्पतालमा १६ जना नेपालीहरू जटिल अवस्थामा कोमामा उपचाररत छन्। जसमा १४ जना पुरूष र २ जना महिला रहेको तथ्यांकले देखाएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार कतारका विभिन्न अस्पतालमा १३ जना, साउदीमा दुई जना, ओमान र दक्षिण कोरियामा १÷१ जना कोमामा उपचाररत छन्।

सन् २०१९/२० मा कोमामा १८  जना नेपाली थिए। २०२०/०२१ मा १३ जना कोमामा थिए। तीन वर्षको अवधिमा विदेशमा बेपत्ता हुनेको संख्या पनि ठूलो छ। सन् २०१९/०२० मा तीन सय ३६ जना पुरूष र १४ जना महिला गरी कुल तीन सय ५० जना हराएका थिए। २०२०/२०२१ मा २९१ पुरूष र १६ महिला गरी कुल ३०७ जना हराएका थिए।

पछिल्लो वर्ष २०२१/२०२२ मा ४ सयभन्दा धेरै नेपालीहरू हराएको तथ्यांकले देखाएको छ। यो वर्ष ३७९ पुरूष र ३१ महिला गरी कुल ४१० जना हराएको तथ्यांक छ। हराउनेमा युएईमा सबैभन्दा धेरै, २५४ जना छन्। त्यस्तै मलेसियामा १०५, कुवेतमा ४८, साउदी अरेबियामा दुई र ओमानमा एक जना हराएका छन्।

पछिल्लो वर्ष विभिन्न मुलुकका जेलमा ७ सयभन्दा धेरै युवा रहेको तथ्यांकले देखाएको छ। युएईको जेलमा सबैभन्दा धेरै, ३४७ जना छन्।

प्रतिवेदनअनुसार कामको खोजीमा तीन वर्षमा ११ लाख ६५ हजार १५१ जना युवाहरू नयाँ तथा पुनः श्रम स्वीकृति लिएर विदेशिएका छन्। सन् २०१९/०२० मा तीन लाख ३९ हजार ९४४ जना पुरुष र २८ हजार ४२९ महिला गरी कुल तीन लाख ६८ हजार ३७३ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्।

त्यस्तै २०२०/२०२१ मा एक लाख ५५ हजार २३३ पुरूष र ११ हजार ४५६ महिलाले श्रम स्वीकृति लिएका छन्। २०२१/०२२ मा पाँच लाख ८० हजार ९६१ पुरूष र ४९ हजार १२८ महिला विदेशिएका छन्। जसमा नयाँ श्रम स्वीकृति लिएर मात्रै ६ लाख ११ हजार ३३२ जना विदेशिएका छन्।

नयाँ श्रम स्वीकृति लिएर विदेशिनेमा सबैभन्दा धेरै मधेश प्रदेशबाट छन्। मधेश प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने २८ दशमलव ६८ प्रतिशत छन्। त्यस्तै प्रदेश १ बाट २० दशमलव २४ प्रतिशत, लुम्बिनी प्रदेशबाट १६ दशमलव ८२ प्रतिशत, बागमती प्रदेशबाट १५ दशमलव ४८ प्रतिशतले श्रम स्वीकृति लिएका छन्। त्यस्तै गण्डकी प्रदेशबाट १२ दशमलव १९ प्रतिशत, कर्णाली प्रदेशबाट ३ दशमलव ८५ प्रतिशतले श्रम स्वीकृति लिएका छन्। सबैभन्दा कम सूदुरपश्चिम प्रदेशबाट २ दशमलव ७३ प्रतिशतले श्रम स्वीकृति लिएका छन्।

जिल्लागत रूपमा हेर्दा धनुषा, सिराहा, झापा, मोरङ, सुनसरीबाट ठूलो संख्यामा युवाहरू विदेशिने गरेको देखिएको छ। पछिल्लो तीन वर्षको अवधिमा सबैभन्दा धेरै, ३५ दशमलव ९ प्रतिशत युवा कतार पुगेका छन्। त्यसपछि दोस्रो गन्तव्य मुलुक मलेसिया बनेको छ। मलेसियामा २२ प्रतिशत युवा पुगेको तथ्यांकले देखाउँछ। त्यस्तै साउदीमा १५ दशमलव ४, संयुक्त अरब इमिरेट्स (युएई) मा ७ दशमलव ५ प्रतिशत र कुवेतमा ६ दशमलव ५ प्रतिशत पुगेका छन्।

जापान, अफगानिस्तान, जोर्डन, माल्टा लगायत मुलुकमा पुग्ने नेपालीको संख्या पनि ठूलो छ। पछिल्लो समय मध्य र पूर्वी युरोपेली क्षेत्रका मुलुकहरू रोमानिया, क्रोएसिया, अल्बेनिया, पोल्यान्ड जस्ता मुलुकहरू नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिएको छ। त्यस्तै  पश्चिम एसियाली मुलुकहरूमा साइप्रस, टर्की पनि नयाँ गन्तव्यका रूपमा देखा परेको देखिएको छ।

वैदेशिक रोजगारमा जाने पुरूष श्रमिकहरू निर्माण क्षेत्रमा ६ दशमलव १ प्रतिशत, सवारी चालक तथा मेसिन अपरेटर ८ प्रतिशत, औद्योगिक तथा औद्योगिक उत्पादन ८ दशमलव ९ प्रतिशत संलग्न हुने गरेका छन्। अवर्गीकृत काममा ४० प्रतिशत पुरूष संलग्न हुने गरेको देखिएको छ।

नेपालबाट जाने अधिकांश महिला श्रमिकहरू भने सरसफाई काममा संलग्न हुने गरेका छन्। ३९ दशमलव ९ प्रतिशत महिला सरसफाइ कामका लागि पुग्ने गरेका छन्। त्यस्तै सेवाजन्य पेसाहरूमा २५ दशमलव ६ प्रतिशत संलग्न छन्। जसमध्ये नर्सिङ तथा हेरचाहजन्य सेवामा २ दशमलव ८ प्रतिशत महिलाहरू संलग्न हुने गरेका छन्।

विशेष