News

प्रचण्डलाई ओलीको प्रश्तावः प्रधानमन्त्री तपाई नै बन्नोस, राष्ट्रपति हामी लिन्छौं

प्रचण्डलाई ओलीको प्रश्तावः प्रधानमन्त्री तपाई नै बन्नोस, राष्ट्रपति हामी लिन्छौं

नेकपा एमालेले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेवाङ मार्फत अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई यस्तो प्रस्ताव गरेका हुन।

सत्ता गठबन्धन छोडेर आए दाहाललाई प्रधानमन्त्री बनाउन एमाले तयार रहेको तर, राष्ट्रपति भने एमालेले पाउनु पर्ने नेम्वाङले दाहाललाई सुनाएका छन् । उनले दाहाललाई प्रधानमन्त्री बनाएर वामपन्थी सरकार बनाउने र प्रदेशमा पनि सोही अनुसार भागवण्डा गर्ने प्रस्ताव सुनाएका हुन् ।

नेम्वाङलाई दाहालले के जवाफ दिए भन्ने चाहिँ खुलिसकेको छैन । एमाले पछिल्ला दिनमा सत्ता गठबन्धन फुटाउने रणनीतिमा छ । दाहाललाई प्रधानमन्त्री बनाउँदा सहजै राष्ट्रपति पाउने बुझेको एमालेले अन्य ३५ वटा राजनीतिक पदको भागवण्डामा नजर लगाएको छ । अहिले एमाले र माओवादीको गठबन्धन नबनेको अवस्थामा एमालेले सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख र सभामुखसहितका ३५ पद गुमाउनुपर्ने अवस्था छ ।

सोही कारण एमाले नेताहरू अहिले नयाँ समीकरणको छलफलमा छन् । पुस १ गते राति ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेसँग पनि लामो संवाद गरेका थिए । अहिले माओवादीसँगै राप्रपा, जसपालाई साथ लिने प्रयास गरिरहेको छ । तर, माधव नेपालको एकीकृत समाजवादीलाई साथ लिन नहुने पक्षमा उभिएको छ ।

एमाले सचिव रघुवीर महासेठले १५ दिनअघि पनि यही प्रस्ताव माओवादी अध्यक्ष दाहालसँग राखेका थिए । महासेठको यो प्रस्तावपछि सत्ता गठबन्धनको बैठकमा निस्केका दाहालले बालुवाटारमा खास छलफल गरेनन् ।

तर, एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरूबीच संवाद भने भइरहेको थियो । महासेठले हिमालय होटलमा माओवादीका नेताहरूसँग बाक्लै भेटघाट र छलफल गरेको पनि चर्चा छ । एमाले अध्यक्ष केपी ओलीको दूतको रूपमा महासेठले यो भूमिका निर्वाह गरेकै कारण दाहाल विश्वस्त भने भइसकेका थिएनन् ।

महासेठको प्रस्तावमा कन्फम हुन दाहालले महासचिव देव गुरुङलाई ओली निवास नै पठाएका थिए । एकसाता अघि राति झन्डै २ घण्टा ओली–गुरुङवीच संवाद भएको थियो । उक्त संवादको प्रगति अहिलेसम्म सार्वजनिक भएको छैन । 
 

विशेष