दलको नेतामा शेखर–गगनको खिचातानीः पछि नहट्ने गगनको संकेत, देउवा उत्साहित
![दलको नेतामा शेखर–गगनको खिचातानीः पछि नहट्ने गगनको संकेत, देउवा उत्साहित](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/12/congress-73a8e.jpg)
कांग्रेस संसदिय दलमा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प खोज्न तयार भएको मोर्चा तहस नहस हुने अवस्थामा पुगेको छ। देउवालाई पाखा लगाउन लागि परेका शेखर कोईराला र गगन थापा आपसमै तँछाड–मँछाड गर्न थालेका छन् ।
आफै नेता बन्ने दुवैको ढिपीका कारण शेखर–गगन समूहबाट सर्वसम्मत उम्मेदवार बन्न सकेको छैन । थापाले दुई महिनाअघि नै दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थिए। तर, अन्तिम समयमा आफ्नै समूहका नेता शेखर कोइरालाले उनलाई ‘ब्रेक’ लगाउन खोजेका छन् ।
दलको नेता चयनका लागि बुधबार बिहान मतदान हुँदै छ भने मंगलबार मनोनयनको कार्यक्रम छ । मनोनयन गर्नुअघिसम्म शेखर र गगनमध्ये एकलाई सर्वसम्मत उम्मेदवार बनाउने कसरत भइरहे पनि त्यो प्रयास सफल हुन सकेको छैन। आफ्नै समूहभित्र शेखर र गगनबीच खिचातानी बढिरहेको छ ।
यसले पुरानै नियति दोहोरिने चिन्ता यो समूहका नेताहरूमा छ । शेखरले महाधिवेशनका बेला आफू प्रधानमन्त्रीका लागि नभएर सभापतिको प्रतिस्पर्धामा मात्रै अघि सर्ने बताएका थिए । १५ औं महाधिवेशनमा नेतृत्वमा युवालाई अघि बढाउने आकर्षक मुद्दा अघि सारेकाले १४ औं महाधिवेशनमा थापा शेखरकै प्यानलबाट महामन्त्री बनेका थिए ।
शेखर गगन नमिल्दा यसको फाईदा सभापति देउवालाई नै हुने देखिन्छ। संसदीय दलको अंकगणित देउवाको पक्षमै छ । शेखर र गगन मिल्दा संस्थापनइतर पक्षमा ३२ सांसद छन् । केहीलाई प्रभावमा पार्न सक्ने रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि सबै देउवाकै पक्षमा लाग्ने सम्भावना छ । निधिबाहेकका नेता पहिला संस्थापनइतर खेमाकै हुन् ।
महाधिवेशनदेखि नै उनीहरूको भूमिका बदलिएको हो । निधिले सार्वजनिक रूपमा देउवालाई दलको नेता बनाउन जोड दिँदै आएका छन् । पौडेलले आफूले कुनै निर्णय लिइनसकेको र पार्टीका शुभचिन्तक तथा नेताहरूसँग छलफलमै रहेको बताएका छन् ।
शेखर र गगन मिल्दा पनि संस्थापनइतर पक्षमा ३२ भन्दा बढी सांसद नभएकाले देउवालाई तत्काल दलको नेताबाट हटाउन सक्ने सम्भावना कम छ । संस्थापनइतरमा दुवै जना उम्मेदवार बन्दाको स्थितिमा त देउवालाई अझै लाभ पुग्ने देखिन्छ । हार्ने चुनाव लड्न पाऊँ भन्दै अनुनय गरिरहे पनि शेखरले साथ दिने संकेत नपाएपछि थापा असन्तुष्ट छन् । सोमबार रातिसम्म आफ्नो पक्षमा जति सांसद उभिए पनि प्रतिस्पर्धाबाट पछि नहट्ने उनले बताएका छन् ।
उम्मेदवार चयनमै संस्थापनइतर पक्षमा देखिएको खटपटले देउवा भने उत्साही छन् । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, प्रदीप पौडेलको साथ हुँदा देउवाको पक्षमा ५७ सांसद हुने देखिन्छ । पाँच वर्षभित्र मन्त्री बन्ने सपना बोकेर आएका सांसदहरू त्यही लोभमा देउवालाई साथ दिने सुरमा छन् ।