News

गणतन्त्रवादी सांसदलाई राजतन्त्रवादी नेताले खुवाउने भए सपथ !

गणतन्त्रवादी सांसदलाई राजतन्त्रवादी नेताले खुवाउने भए सपथ !

नव निर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमसेर राणाले शपथ ग्रहण गराउने भएका छन्। ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने प्रावधान अनुसार राणाले निर्वाचित सांसदहरूलाई शपथ गराउने भएका हुन्।

यस पटकको प्रतिनिधि सभामा अधिकांश गणतन्त्रवादी नेतालाई राजतन्त्रवादी नेताले सपथ खुवाएको देख्न पाईने छ। संसद सचिवालयले राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको सहायक प्रवक्ता दशरथ धमलाले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि उनले अन्य सांसदलाई शपथ खुवाउने छन्। साथैसभामुख चयन नहुँदासम्म प्रतिनिधिसभाको अध्यक्षता गर्नेछन् । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार बिहीबार राष्ट्रपति भण्डारी बुटवल जाने कार्यक्रम छ । त्यसकारण बुधबार नै शपथ ग्रहण गराउने तयारी भएको हो । तर, समय तय हुन बाँकी छ ।

प्रतिनिधिसभामा निर्वाचित भएका २७५ सांसदलाई शपथ ग्रहण गराउनुअघि ज्येष्ठ सदस्य आफैंले शपथ लिनुपर्नेछ । सांसदहरूको शपथ पुस ७ गते तय भएको छ। नागरिकता अनुसार नेपाल सामाजवादी पार्टीका सांसद महिन्द्रराय यादव जेष्ठ छन्।

कागजी उमेरमा जेठो भए पनि आफू कान्छो रहेको स्वघोषणा गर्दै उनले शपथ ग्रहण गराउन अस्वीकार गरेका हुन्। त्यसपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राणाको नागरिकता भिडाउँदा केसीभन्दा राणा १ महिना २६ दिनले जेठो रहेको पाइएको छ।

केसीको जन्म  विसं १९९८ माघ २०  मा भएको थियो भने राणाको जन्म १९९८ मंसिर २४ मा भएको थियो। 

राष्ट्रिय पञ्चायतदेखि नेपालको विधि निर्माणमा संलग्न जबरा ८१ वर्षमा भए । २०३० मंसिर २४ गते जारी भएको जबराको नागरिकतामा उमेर ३२ वर्ष लेखिएको छ । 
 

विशेष