News

देउवालाई गगनको आग्रहः उम्मेदवारी फिर्ता लिएर परिवर्तनको बहाव खोलिदिनोस

देउवालाई गगनको आग्रहः उम्मेदवारी फिर्ता लिएर परिवर्तनको बहाव खोलिदिनोस

नेपाली कांग्रेसका महामन्त्री तथा संसदीय दलको नेताका उम्मेदवार गगन थापाले सभापति शेरबहादुर देउवालाई आफनो उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । उनले उमेदवारी फिर्ता लिएर परिवर्तनको बहाव खोलिदिन पनि देउवासँग आग्रह गरेका छन् ।

मंगलबार संसदीय दलको नेताका लागि उमेदवारी दर्तापछि थापाले डा. शेखर कोइरालाले आफूलाई समर्थन गर्दै परिवर्तनको चाहनाको सम्बोधन गरेको बताउँदै देउवाले पनि परिवर्तनको आकांक्षाको सम्मान गर्नुपर्ने बताए ।

‘मेरो उमेदवारीको प्रस्ताव गर्नुभएका डा. शेखर कोइराला र समर्थन गर्ने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र मित्र प्रदीप पौडेलप्रति आभार प्रकट गर्दछु। सम्माननीय प्रधानमन्त्री  तथा आदरणीय सभापति श्रद्धेय शेरबहादुर देउवाले उमेदवारी दर्ता गराइसक्नुभएको छ’ उनले भनेका छन्–‘अबको दुई घण्टापछि उमेदवारी फिर्ता लिने समय छ । शान्त मनले मनन गरेर उमेदवारी फिर्ता लिने कुरा नेपाली कांग्रेसको जीवनमा ऐतिहासिक निर्णय हुनेछ ।’

उनले देउवाको प्रस्ताव बसेका नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यका निम्ति उनको समर्थन फिर्ता लिन आग्रह गरे । देउवाको उमेदवारीमा समर्थक बसेका नेता प्रकाशमान सिंह र उपसभापति पूर्णबहादुर खड्कालाई पनि उमेदवारीमा गरेको समर्थन फिर्ता लिँदै परिवर्तनको प्रक्रियामा सहयोगी बन्न थापाले आग्रह गरे ।

महामन्त्री थापाले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक प्रतिस्पर्धा मात्र नभएको भन्दै सांसदहरूलाई जनमतको सम्मान गर्न आग्रह गरे । उनले पार्टीको नेतृत्वमा को छ, कसको नजिक जाँदा लाभ हुन्छ भन्ने भन्दा सांसदहरूको कर्तव्य आफ्ना मतदाताको आवाज सुन्ने भएको भन्दै मतदानका क्रममा जनभावनाका सम्मान गर्न आह्वान गरे ।

विशेष