News

राष्ट्रपतिमा गठबन्धनभित्रै लफडाः तीन जनाको दावी, कस्ले मार्ला वाजी ?

राष्ट्रपतिमा गठबन्धनभित्रै लफडाः तीन जनाको दावी, कस्ले मार्ला वाजी ?

निर्वाचन परिणाम सार्वजनिक भएसँग सरकार गठनको तयारी तिव्र रुपमा अगाडि वढेको छ। यति मात्रै होईन, फागुनमा चयन हुने नयाँ राष्ट्रपतिका लागि आकांक्षी नेताहरूले दौडधुप सुरु गरेका छन् ।

सरकार गठन नहुँदै राष्ट्रपति पदलाई बढी नै महत्व दिँदै आकांक्षीहरुले दौडधुप तीव्र बनाएका छन् । अहिलेसम्मको स्थितिमा राष्ट्रपतिका लागि सत्ता गठबन्धनकै तीन जना नेताहरु प्रतिस्पर्धामा देखिएका छन् । 

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल र माओवादीका तर्फबाट डा. बाबुराम भट्टराईको नाम भावी राष्ट्रपतिका रुपमा चर्चामा छ । पौडेल र खनालले राष्ट्रपतिका लागि माहोल आफ्नो पक्षमा पार्ने प्रयास थालिसकेका छन् ।

नेता पौडेलले आफ्नै पार्टीका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवादेखि गठबन्धनका नेता माधव नेपाल र प्रचण्डलाई भेटेर यसको संकेत दिइसकेका छन् । पौडेलले यसअघि आफुलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने गरेपनि संसदीय दलको नेतामा देउवालाई सहजै छाडेर आफूलाई राष्ट्रपतिमा सुनिश्चित गर्ने उपाय खोजेका छन्।

कांग्रेस नेता कार्यकर्ताका अनुसार आफुलाई राष्ट्रपति बनाउने शर्तमा पौडेलले देउवालाई दलको नेतामा सघाएका हुन् ।

एकीकृत समाजवादीका सम्मानित नेता खनालले पनि राष्ट्रपतिमा आफ्नो स्वाभाविक दावी रहने सार्वजनिक रुपमै बताइसकेका छन् । यसअघि पनि गठबन्धनका नेताहरूले आफूलाई राष्ट्रपति बनाउने आश्वासन दिएकाले अहिले आफूलाई दावी गर्न अप्ठेरो नहुने खनालको भनाइ छ ।

संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्री नपाए राष्ट्रपति र सभामुखमा दावी गर्ने तयारी गरेको छ । यद्यपि माओवादीले आफ्नो बटमलाईन प्रधानमन्त्री नै बनाएको छ ।

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि संघीय सांसद र प्रदेश सांसद मतदाता रहने भएपनि उनीहरूको मतभार फरक–फरक हुन्छ । संघीय सांसदको मतभार प्रतिव्यक्ति ७९ कायम छ भने प्रदेश सांसदको ४८ तोकिएको छ ।

यस्तोमा हालकै सत्ता गठबन्धन कायम रहे राष्ट्रपति र उपराष्ट्रपति पनि सत्ता गठबन्धनकै रहने मतभारले प्रस्ट पार्छ । अहिलेको अवस्थामा  ८८४ जना सांसदले मतदान गर्न पाउने हुँदा उनीहरूको कुल मतभार ५२ हजार ७८६ हुन जान्छ ।

यस्तो अवस्थामा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा समाजवादी, लोसपा र जनमोर्चाका सांसदहरुको मतभार जोड्दा २७ हजार ४१२ हुन आउँछ । जबकी राष्ट्रपति उपराष्ट्रपतिमा निर्वाचित हुन कुल मतभारको ५१ प्रतिशत भए पुग्छ । यो भनेको २७ हजार ४१२ को २६ हजार ३ सय ९४ मत हुन्छ । 
 

विशेष