News

अहिलेसम्म कुन कुन पार्टीले पाए राष्ट्रिय दलको मान्यता ?

अहिलेसम्म कुन कुन पार्टीले पाए राष्ट्रिय दलको मान्यता ?

निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ।

शुक्रबार अपरान्हसम्म समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त गरेका हुन्। 

यि पार्टीले राष्ट्रिय दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए। तर प्रत्यक्षमा १० सिट जितेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने अझै पनि थ्रेस होल्ड कटाउन सकेको छैन।

नेकपा एसले अहिलेसम्म २ लाख ९३ हजार मत ल्याएको छ। १ करोड ९ लाख मत खसेर करिब १ करोड ६ लाख सदर भएको अवस्थामा समाजवादीले ३ लाख १० हजारदेखि २० हजार आसपास मत ल्याए मात्रै राष्ट्रिय पार्टी हुन सक्ने अवस्था छ। 

जसअनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मतगणना भइसकेको छ। दोलखा, बाजुरा र स्याङजामा भने मतगणना चालु रहेकाले त्यसको परिणाम आउन बाँकी छ। 

१ करोड ३ लाख ८२ हजार ७५ समानुपातिकतर्फको मतगणना भएको विवरण आयोगमा इन्ट्री भइसकेको छ। सिष्टममा इन्ट्री भइसकेको आधारमा ७ दलहरुले सदर मतको ३ प्रतिशत मत कटाएको आयोगले जनाएको छ।

सम्भवतः दोलखा, बाजुरा र स्याङ्जाको मतगणना समाप्त भइसकेपछि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको दलले प्राप्त गरेको समानुपातिक मत निर्क्यौल हुने जनाईएको छ। मंसिर २० गतेभित्र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलहरुको मत संख्या टुंगो गर्न सकिने आयोगले जनाएको छ।
 

विशेष