News

तानसेनमा कस्ले लुकाएको थियो राणाकालीन अवस्थाका गोला बारुद

तानसेनमा कस्ले लुकाएको थियो राणाकालीन अवस्थाका गोला बारुद

पाल्पाको तानसेन नगरपालिका–४, बारुदखानामा राणाकालीन अवस्थाका करिव ३ सय गोला बारुद फेला परेको छ। घडेरी खन्ने क्रममा तोपका सयौं गोला भेटिएको जनाईएको छ।

पाल्पा अस्पतालदेखि २ सय मिटर दक्षिणतर्फ रहेको पुरानो गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला भेटिएका हुन् । नेपाली सेनाको जग्गामा अतिथि गृह निर्माण गर्न घडेरी खन्ने क्रममा गोला भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

३०० भन्दा बढी तोपका गोला फेला परेको प्रहरीले जनाएको छ । ०६२ साल माघ १८ गते तत्कालीन विद्रोही माओवादी आक्रमणमा गोलाखाना घर भत्काएका थिए । त्यही ठाउँमा सोमबारदेखि नेपाली सेनाले अतिथि गृह निर्माणका लागि घडेरी खनिरहेको छ ।

माथिल्लो भागमा ढलान गरिएको र तल्लो एक लेयरमा गोलाहरु भेटिएको जनाईएको छ। इतिहासविद्हरुका अनुसार त्यहाँ झिँगटीले छाएको गोलाखाना घर थियो । यहाँ पहिले नेपाली सेनाको एक टुकडी बस्ने गर्दथ्यो । 

भीमसेन थापाको पालामा सेनाले गोला, बारुद, हतियार बनाउन फ्रान्सबाट सहयोग लिएको थियो । पृथ्वीनारायण शाहका पालामा पनि हातहतियार बनाउने तालिम दिइन्थ्यो । पाल्पामा त्यसबेलाका नेपालभरका २६ मध्ये चार पल्टन थियो । भवानीदल, बरख, इन्द्रध्वज र सवुज गण यही थियो । पाल्पा गौडाबाट पश्चिम क्षेत्रमा हातहतियार आपूर्ति हुन्थ्यो ।

राणाकालीन अवस्थामा राखिएका तोपका गोला हुनुपर्ने इतिहाँस विद निर्मल श्रेष्ठको मत छ। हाल पाल्पा अस्पतालनजिकै मोहनकन्याको छात्रावासबाट तोप दैनिक पड्काउने गरिन्थ्यो । २०१८ सालदेखि तोप दैनिक पड्काउन बन्द भएको हो । जिल्लाकै मदनपोखराको छापमा बागलुङबाट ल्याएका गोलनदारहरूको सात घर बस्ती पनि छ । २९ घर फलाम खानीमा काम गर्नेहरुसमेत रहेको उनले बताए ।

भीमसेन थापाको पालादखि नै तोपमा राख्ने गोला बनाएको इतिहास पढ्न पाइने उनले बताए । सैनिक सामरिक स्थान भएकाले यस्ता तोपका गोला भेटिनु सामान्य भएको श्रेष्ठ बताए । 
 

विशेष