News

गगन थापाको चेतावनीः बन्द कोठामा हुने आलोपालोको निर्णय कांग्रेसले बोक्दैन

गगन थापाको चेतावनीः बन्द कोठामा हुने आलोपालोको निर्णय कांग्रेसले बोक्दैन

कांग्रेस महामन्त्री गगन थापाले सरकार निर्माण र राष्ट्रपतिबारे बन्द कोठामा हुने आलोपालोको निर्णय पार्टीले नमान्ने बताएका छन् ।

संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिँदै उनले अब स्वाभाविक रूपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यससम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने बताए । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्दकोठामा आलोपालोको सहमति गरे त्यसलाई कांग्रेसले नबोक्ने उनले चेतावनी दिएका छन् ।

माओवादीसँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबन्डाको तयारी भइरहेका बेला थापाले बुधबार यी विषयमा संस्थागत निर्णय हुनुपर्ने उल्लेख गरे । उनले आफू अब सरकारमा नजाने बताउँदै दलको नेताका लागि नै फेरि प्रयास गर्ने बताए ।

‘म अहिले सरकारमा जाने विषयमा सोचेको छैन, दलको नेताकै लागि फेरि प्रयास गर्नेछु तर कांग्रेसको नाममा हुने कुनै पनि निर्णय पारदर्शी भएनन् र सम्बन्धित कमिटीभित्र छलफल भएनन् भने व्यक्तिगत निर्णय हुनेछ’ उनले भने, ‘अर्को पार्टीसँग कुनै समझदारी गर्छ भन्यो भने पार्टीसँग संस्थागत भए कांग्रेसले बोक्छ नभए आलोपालो भन्ने अँध्यारो कोठाभित्र गरिए कांग्रेसले बोक्दैन । हामीले मानिदैन ।’

बुधबार सम्पन्न कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा ६४ मत ल्याएर विजयी भए भने थापाले २५ मत ल्याए । उनले आफ्नै समूहको मतसमेत पाएनन् ।
 

विशेष