विवाहमा नाच्ने विषयमा झडप, वेहुलासहितले कुटपिट गर्दा एक जनाको मृत्यु
![विवाहमा नाच्ने विषयमा झडप, वेहुलासहितले कुटपिट गर्दा एक जनाको मृत्यु](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/08/death.jpg)
पर्साको जगरनाथपुर गाउँपालिका–३ मा विवाहमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो ।
सहरूम राउत गद्दीका छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा मंगलबार साँझ झडप हुँदा सैमुल्लाहलार्ई कुटपिट गरिएको प्रहरीले जनाएको छ।
मंगलबार राति ११ बजेतिर नाचगान गर्ने विषयमा विवाद भएको थियो । सैमुल्लाहले नाच्न नदिएको भन्दै विवाद हुँदा दुलाहा साबिर, काका जादुल राउत गद्दी लगायतले कुटपिट गरेको स्थानीयले बताएका छन् ।
प्रहरीलाई भने बुधबार बिहान ४ बजे सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा भेटिएको भन्दै जानकारी गराईएको थियो। प्रहरीले वीरगञ्ज स्थित नारायणी अस्पतालमा पुर्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
सैमुल्लाहको शव नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।