News

माओवादी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत, उपनेताको टुङ्गो लागेन

माओवादी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत, उपनेताको टुङ्गो लागेन

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् । उपनेतामा भने दुई नेताको प्रतिस्पर्धा देखिएकाले चयन हुन सकेको छैन।

सिंहदरबारस्थित दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई प्रतिनिधिसभा तथा संघीय संसदीय दल नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो। उपनेतामा नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् ।

बैठकले प्रमुख सचेतकमा हितराज पाण्डेलाई सर्वसम्मत चयन गरेको छ भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा दल नेतामा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै छन् ।

बैठकले दलको अन्तरिम विधान पारित गरेको र अर्को व्यवस्था नभएसम्म त्यही विधानअनुसार अगाडि बढ्ने निर्णय गरिएको छ । बैठकले सांसदहरुलाई कार्यशालासहित प्रशिक्षण सञ्चालन गरेर व्यवस्थित गर्ने निर्णय पनि गरेको माओवादी केन्द्र संसदीय दलका नवनिर्वाचित प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

संसदीय दलको बैठकअघि माओवादी केन्द्र पदाधिकारी बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको थियो । 
 

विशेष