News

सांसदको सपथ ग्रहण आज, क–कस्ले लिदैछन् संस्कृत र हिन्दीमा सपथ

सांसदको सपथ ग्रहण आज, क–कस्ले लिदैछन् संस्कृत र हिन्दीमा सपथ

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । २६ जनाले सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् ।

नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् । उनीहरुले हिन्दीदेखि संस्कृतसम्मका भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् ।

नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय स्वतन्त्र पार्टीका ५, जनमत पार्टीका ४, जसपा, नागरिक उन्मुक्ति पार्टीका ३÷३, स्वतन्त्र २ र कांग्रेस तथा नेकपा एमालेका एक÷एक सांसदहरुले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् ।

नेकपा एमालेका राज अहमद फारुकीले उर्दु, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, मिना तामाङ, सूर्यमान तामाङले तामाङ भाषामा शपथ लिन चाहेका छन्। यस्तै माओवादी केन्द्रका महिन्द्र राय यादवले हिन्दी भाषामा र उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिनेछन् ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा निर्वाचित सांसद किरण कुमार साहले संस्कृत भाषामा शपथ लिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले नेपाली ÷मुस्लिम भाषामा शपथ लिने गरी निवेदन दिएका छन् ।

ईश्वरको ठाउँमा अल्लाह राख्ने गरी उनले शपथ लिने जनाइएको छ । रास्वपाकै सांसद लक्ष्मी तिवारीले अवधि, मनिष झाले मैथली, सुमना श्रेष्ठले नेपाल भाषामा शपथ लिनेछन् ।

थारु भाषामा शपथ लिने गरी ६ जनाले निवेदन दिएका छन् । राप्रपाका अशोक कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारुले थारू भाषामा शपथ लिने गरी निवेदन दिएका छन् । स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामा शपथ लिनेछन् ।

यस्तै जनमत पार्टीका सोनु मुर्मु सन्थाली भाषामा, जनमत पार्टीकै चन्द्रकान्त (सीके) राउत, बिनिता कुमारी सिंह र अनिता देवीले मधेशी भाषामा शपथ लिने बताएका छन् । मधेशी भाषा भन्नाले मधेशमा बोलिने भाषामध्ये जुनसुकै हुने उनीहरुको तर्क छ ।

शपथमा आउँदा राष्ट्रिय पोशाक वा आफ्नो संस्कृति झल्किने पोशाकमा आउन संसद सचिवालयले सांसदहरूलाई आग्रह गरेको छ । नेकपा एमालेले भने आफ्ना सबै सांसदलाई राष्ट्रिय पोशाकमा शपथग्रहण गर्न निर्देशन दिएको छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् ।
 

विशेष