News

यस्ता पनि सांसद, जस्ले संसद सचिवालयबाट १ लाख बढिका ल्यापटप लिएर हिडे

यस्ता पनि सांसद, जस्ले संसद सचिवालयबाट १ लाख बढिका ल्यापटप लिएर हिडे

अघिल्लो प्रतिनिधिसभाका संसदीय समिति सभापतिसहित १३ जना सांसदले विश्व बैंक मार्फत उपलब्ध गराईएको ल्यापटप नै बोकेर हिडेका छन् । उनीहरुले कार्यकाल सकिए पनि ल्यापटप फिर्ता गरेका छैनन । 

समितिको काम प्रभावकारी बनाउन विश्व बैंकको बहुदातृ सहयोग कोष (मल्टी डोनर ट्रस्ट फन्ड) को सहयोगमा खरिद गरिएका ल्यापटप फिर्ता नगर्नेमा लेखा समितिका तत्कालीन सभापतिसहित १३ जना छन ।

लेखा समितिका तत्कालीन सभापति भरत शाह, अर्थ समितिका तत्कालीन सभापति कृष्ण दाहाल र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति नीरादेवी जैरुले एक लाखभन्दा बढी मूल्य पर्ने ल्यापटप लगेको जनाएको छ ।

यसैगरी, लेखा समितिका तत्कालीन सदस्य गंगाबहादुर तामाङ, चन्दा चौधरी, धनबहादुर बुढा, धर्मशीला चापागाईं, पार्वती डिसी चौधरी, पार्वतीकुमारी बिशुन्के, मीना सुब्बा, मैनाकुमारी भण्डारी, मोहन आचार्य, प्रदीप यादव र मोहम्मद इस्तियाक राईले हालसम्म ल्यापटप फिर्ता गरेका छैनन्।

तीमध्ये प्रदीप यादव र मोहम्मद इस्तियाक राई समितिको सदस्य छाडेर मन्त्रीसमेत भएका थिए । नयाँ सांसदलाई दिने बेलामा पुराना सांसदले नै ल्यापटप बोकेर हिडेको संसद सचिवालयले जनाएको छ। संविधान जारी भएपछि प्रतिनिधिसभाको दोस्रो कार्यकालका लागि निर्वाचित सांसदले आज शपथ लिँदै छन । उनीहरूको कार्यकाल शनिबारदेखि सुरु हुने भएपछि सचिवालयलाई ल्यापटप व्यवस्थापनको समस्या परेको छ।

लेखा समितिको ०७८ पुस २० को ५५ औं बैठकले मल्टी डोनर ट्रस्ट फन्डको सहयोगमा सञ्चालित सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यक्रमबाट प्राप्त ल्यापटप समितिका सदस्य र कर्मचारीलाई वितरण गर्ने निर्णय गरेको थियो ।
 

विशेष