News

प्रधानमन्त्री बन्न ‘जे पनि गर्न’ तयार छन् प्रचण्ड, एमालेसँग वढ्यो साँठगाँठ

प्रधानमन्त्री बन्न ‘जे पनि गर्न’ तयार छन् प्रचण्ड, एमालेसँग वढ्यो साँठगाँठ

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट जितेर आएका सांसदहरुले विहिवार औपचारिक सपथग्रहरण गरेका छन्। योसँग सरकार निर्माणको बाटो अझै सहज भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि दिएको सात दिने समय सिमा पनि घर्किदै गएकाले नेताहरु घनिभुत छलफलमा छन्।

नेकपा एमाले सत्ता गठबन्धन फुटाएर आफुसहितको सरकार बनाउने प्रयासमा छ भने कांग्रेस–माओवादीका नेताहरु सकेसम्म गठबन्धन कायमै राखेर सरकार निर्माण गर्ने कसरतमा छन्। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहिलो चरणमै प्रधानमन्त्री बन्ने चाहनाले गठवन्धन रहला–नरहला भन्न सक्ने अवस्था छैन।

दाहालले गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष आफु प्रधानमन्त्री बन्न औपचारिक दलिल नै पेस गरे। खासमा उनी अब बन्ने सरकार आफ्नै नेतृत्वमा हुनुपर्ने कसरतमा पछिल्ला केही सातादेखि नै लागिरहेका छन्। 

सत्तागठबन्धन कायमै राखेर प्रधानमन्त्री बन्ने कसरतमा लागिरहेका दाहाल गठबन्धनबाट आफ्नो चाहना पूरा हुने स्थिति नदेखे त्यसको विकल्प खोज्नसमेत तयार देखिन्छन्। गठबन्धनमा बसिबसी माओवादी नेताहरूलाई पठाएर नेकपा एमालेसँग समेत संवाद गरिरहेका दाहाल प्रधानमन्त्री बन्न ‘जे पनि गर्ने’ मनस्थितिमा देखिन्छन्। 

देउवाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गरिरहेका बेला दाहालले औपचारिक रूपमै प्रधानमन्त्रीमा दाबी गरेपछि सरकार गठन प्रक्रिया नै रोचक मोडमा पुगेको छ। दाहालले प्रधानमन्त्रीमा दाबी गर्दा भने देउवाले आफ्नो पार्टीभित्र संसदीय दलको नेताको टुंगो लागेपछि यसबारे छलफल गर्ने जवाफ दिएका थिए। 

खासमा माओवादीले प्रत्यक्षतर्फ १८ क्षेत्र जितेको थियो भने समानुपातिकतर्फ त्यसमा थप १४ सिट थपेको छ। प्रतिनिधिसभामा माओवादीका कूल ३२ सदस्य छन्। तेस्रो स्थानमा रहेको माओवादी प्रतिनिधिसभामा कांग्रेस र एमालेपछि सिट संख्याका हिसाबले निकै पछाडि छ। तर, वर्तमान सत्तागठबन्धनमा रहेका दलमध्ये कांग्रेसपछिको दोस्रो ठूलो दल भएकाले सरकारको नेतृत्व आफूले पाउनुपर्ने माओवादीको दाबी छ। 

कांग्रेस भने आलोपालो सरकारको नेतृत्वका लागि तयार भएपनि अहिले नै माओवादीलाई नेतृत्व दिन तयार देखिँदैन। कांग्रेसको यस्तो मनस्थिति बुझेका दाहाल प्रधानमन्त्री बन्न त्यसबाहिरको विकल्पमा पनि उत्तिकै लागिरहेका छन्। 

उनले कांग्रेसले साथ नदिए गठबन्धन तोड्ने र एमालेसँग मिलेर प्रधानमन्त्री बन्ने घुमाउरो सन्देशसमेत कांग्रेस नेतृत्वलाई पु¥याइरहेका छन्। गठबन्धन कायमै राखेर सरकारको नेतृत्वमा माओवादीको दाबी रहने उल्लेख गर्दै दाहालनिकट एक नेता भन्छन्, ‘त्यो अवस्था भएन भने अन्य विकल्पमा पनि हामी छलफल गरिरहेका छौँ।’

सिट संख्याका आधारमा कमजोर भएपनि दाहालले गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीदेखि जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसद आफूसँग रहेको भन्दै कांग्रेसमाथि दबाब बढाइरहेका छन्। माओवादीका ३२, एकीकृत समाजवादीका १०, जसपाका १२, नागरिक उन्मुक्ति पार्टीका ३ र प्रभु साहसहितका ३ स्वतन्त्र सांसद मिलाएर ६० सांसद आफूसँग रहेको दाहालको दाबी छ। 

दाहालले यसबाहेक एमालेका नेताहरूसँग पनि संवाद बढाइरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि अनौपचारिक रुपमा संवाद गरिरहेका छन् । केही दिनअघि महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेरै एमाले अध्यक्ष ओलीसँग संवाद गरेका थिए। ओलीनिकटका नेताहरु पनि खुमलटार पुगेर दाहालसँग प्रत्यक्ष सम्वाद गरेका थिए।

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले त दाहाललाई प्रधानमन्त्री बन्न नै अफर गरेको कुरा वाहिर आईसकेको छ। माओवादीले प्रधानमन्त्री लिएपछि एमालेले राष्ट्रपति पाउनु पर्ने सन्देश उनले दाहाललाई दिई सकेका छन्। तर, दाहालले त्यसको औपचारिक जवाफ फर्काएका छैनन् ।

माओवादी केन्द्रका सचिव राम कार्की भने गठबन्धनबाहेकको हकमा माओवादीको नेतृत्वमा सरकार बनाउने विषयमा अहिलेसम्म छलफल नभएको दाबी गर्छन्। ‘कांग्रेसका साथीहरूले सिट संख्याको कुरा उठाइरहेका छन्। त्यसै अनुसार हेर्ने हो भने त देउवाजीलाई प्रधानमन्त्री बनाउँदा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्रै जितेको थियो नि’–उनले भने। 
 

विशेष