News

‘सिरियल किलर’ चार्ल्स शोभराजलाई नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी

‘सिरियल किलर’ चार्ल्स शोभराजलाई नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी

‘सिरियल किलर’ चार्ल्स शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी गरिएको छ । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका उनलाई अध्यागमन विभागका अधिकारीहरुले उनकै देश पठाउने तयारी अघि बढाइएको बताएका छन् ।

केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ । सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । उनलाई केन्द्रीय कारागारबाट बिहीबारै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो । तर उनी रिहा हुन मानेनन्।

शोभराजलाई कानुनी सहयोग गरिरहेका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनका अनुसार उनलाई शुक्रबार (आज) मात्र अध्यागमन विभागमा लगिंदैछ । जेलरले अध्यागमनको जिम्मा लगाएपछि उनको पासपोर्ट नवीकरण भए÷नभएको हेरिने र भिसा प्रक्रिया अघि बढाएर स्वदेश फर्काउने जनाईएको छ।

शोभराजले भने केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् । फ्रान्सबाट आएका आफन्तहरुसँग होटल हायातमा बस्ने र मुटुको उपचार गराउने भन्दै उनले त्यसको प्रबन्ध मिलाइदिन नेपाल सरकारसमक्ष अनुरोध गरेको जनाईएको छ।

शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।

शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको बताइन्छ । तर, उनले चाहिँ भक्तपुर घटनामा आफू संलग्न नरहेको बताउने गरेको छन्।
 

विशेष