News

गगन थापा पाँच वर्षभित्र संसदीय दलको नेता बन्ने यस्तो छ सम्भावना

गगन थापा पाँच वर्षभित्र संसदीय दलको नेता बन्ने यस्तो छ सम्भावना

कांग्रेस संसदीय दलको बुधबार सम्पन्न निर्वाचनमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भए। दलको नेता निर्वाचित हुँदा देउवाले ६४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले भने २५ मतमै दम तोडे। 

०५७ यता संसदीय दलको निर्वाचनमा प्रतिशतका हिसावले सबैभन्दा कम मत (२८.०८) पाउने उम्मेदवार थापा नै बनेका छन्। यद्यपी कांग्रेसको चौधौँ महाधिवेशनमा फरक–फरक खेमाबाट महामन्त्रीको प्रत्यासी रहेका चारै जना युवा नेता भने संसदिय दलको निर्वाचनमा एकै ठाउँमा उभिए। डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले पनि थापालाई साथ दिए ।

यद्यपी उनले चुनाव भने जित्न सकेनन्। तर, यो प्रकरण यतिकैमा सकिएको छैन। गगन थापाले सांसदहरुलाई आफनो पक्षमा पार्न सके ५ वर्ष भित्रै उनी संसदिय दलको नेता चयन हुने सम्भावना भने जिवितै छ।

उनी संसदीय दलको नेता बन्न सबैभन्दा पहिला संसदीय दलको नेताको पद रिक्त हुनुपर्छ। यसका लागि प्रधानमन्त्री देउवा कि आफैँ हट्नुपर्छ, कि उनलाई हटाउनुपर्छ।

नेपाली कांग्रेस संसदीय दलको विधान–२०७४ को धारा २२ ले संसदीय दलको नेताको पद रिक्तताका लागि चार किसिमको व्यवस्था गरेको छ। व्यवस्था अनुसार, कार्यसमिति समक्ष लिखित राजीनामा दिएमा, विश्वासको प्रस्ताव पारित हुन नसकेमा, अविश्वासको प्रस्ताव पारित भएमा, निज प्रतिनिधि सभाको सदस्य नरहेमा वा निजको मृत्यु भएमा संसदीय दलको नेताको पद रिक्त हुनेछ।

यो व्यवस्था अनुसार संसदीय दलको नेताको पद रिक्त हुन कि देउवाले राजीनामा दिनुपर्छ, कि उनीमाथि अविश्वासको प्रस्ताव ल्याउनुपर्छ। देउवालाई नै आफूप्रति संसदीय दलको विश्वास छ–छैन भन्ने परीक्षण गर्न मन लाग्यो र यस सम्बन्धमा मतदान हुँदा विश्वासको मत प्राप्त गर्न असफल भए भनेपनि संसदीय दलको नेताको पद रिक्त हुनेछ। तर, देउवाको हकमा यो संभावना छैन भन्दा पनि अन्यथा मान्नु पर्ने अवस्था छैन।

ज्योतिषको भविष्यवाणी अनुसार उनी ७ पटक प्रधानमन्त्री बन्ने योजनामा दृढ छन्। यस्तो अवस्थामा उनले आफैँ संसदीय दलको नेताबाट राजीनामा देलान भनेर आश गर्नु अनर्थ हुन्छ। 

यो स्थितिमा देउवालाई संसदीय दलको नेताबाट हटाउन इतर समूहले अविश्वासको प्रस्ताव नै पेश गर्नु पर्ने हुन्छ। थापाको पक्षमा यसपटक खसेको मत हेर्दा अविश्वासको प्रस्ताव पेश गर्न आवश्यक पर्ने मत भने इतर समूहसँग छ।

विधानको धारा २२ (६) ले अविस्वास प्रस्ताव सम्बन्धी व्यवस्था गरेको छ। त्यसमा भनिएको छ, ‘संसदीय दलको प्रतिनिधि सभाका २५ प्रतिसत सदस्यले नेतामाथि अविश्वास प्रकट गरी सो प्रस्तावमा छलफलका निम्ति संसदीय दलको बैठक बोलाउन सदस्य सचिव समक्ष लिखित निवेदन दिन सक्नेछन्।’

गगनले यसपटकको निर्वाचनमा २५ मत प्राप्त गरेका छन्। प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८९ सदस्य रहेकाले गगनले प्राप्त गरेको यो मत २८.०८ प्रतिसत हो।

यो मत अविश्वास प्रस्ताव पेश गर्न पर्याप्त छ। तर, अविश्वास प्रस्ताव पारित हुन प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशत अर्थात् ८९ मध्ये ४५ जना सांसदको समर्थन आवश्यक पर्छ। यदी थापालले अविश्वासको प्रश्ताव ल्याएर त्यसलाई सफल पार्न सके भने संसदीय दलको नेता बन्ने उनको सम्भावना भने जिवितै छ।
 

विशेष