News

ओलीको निस्कर्ष– प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना सकियो, देश मध्यावधिमा जान्छ

ओलीको निस्कर्ष– प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना सकियो, देश मध्यावधिमा जान्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै उनले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताए।

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले इच्छा गरेको तर समयमा कदम नचालेको भन्दै अरुले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने बताएका हुन् ।

‘पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाई लाग्छ उहाँले निर्णय गर्न ढिला गर्नुभयो’–उनले भने । ओलीले संस्कृतको एउटा नीति श्लोक सुनाउँदै जुनसुकै काम पनि बेलामा नगरेमा त्यसको फल खान नपाउने बताए ।

‘लिनुपर्ने कुरा, दिनुपर्ने कुरा, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिंदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाइदिन्छ’ ओलीले भने–‘यदि तपाईंले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनुहुन्न, बेच्न पनि पाउनुहुन्न । किनभने त्यो आफैं झरेर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हो, अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नुभएन ।’

‘अरुले पनि समयमा कदम चालेनन् भने देश फेरि घुमिफिरि मध्यावधिमा जाने सम्भवना छ । जाँदैन भन्न सकिँदैन’ उनले भने, ‘किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने सञ्चालन कसरी होला ?’

अरु दलहरुमा व्यक्तिगत र दलगत स्वार्थ देखिएका कारण सरकार नै बन्न नसकेको ओलीले बताए ।  

विशेष