News

यसरी भयो चार्ल्स शोभराज र निहिता प्रेमको दुःखद अन्त्य

यसरी भयो चार्ल्स शोभराज र निहिता प्रेमको दुःखद अन्त्य

‘सिरियल किलर’ का रूपमा चिनिएका कुख्यात अपराधि चार्ल्स शोभराज अबका १० वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी शुक्रबार निष्कासित भएका छन । नेपालमा १९ वर्ष जेल जीवन बिताएका शोभराज फ्रान्सेली नागरिक हुन।

नेपालबाट निस्कासनमा परेसँग चार्ल्स शोभराज र नेपाली युवती निहिता विश्वासको प्रेमको पनि दुखद अन्य भएको छ। चार्ल्स शोभराज र निहिताले ०६५ असोज २३ गते जेलभित्रै विवाह गरेका थिए। जतिवेला चार्ल्स ६६ वर्षका थिए भने निहित भर्खर २२ वर्षकी थिईन। उनीहरुको विवाहका वारेमा जेलरले समेत भेउ पाएनन् ।

बिहेपछि पनि निहिता पटकपटक कारागार पुगिराख्थिन् । शोभराजलाई अदालतमा उपस्थित गराउँदासँगै पुग्थिन्, शोभराजको पक्षमा सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिन्थिन् । शोभराजसँग जोडिएकै कारण उनले भारतको चर्चित रियालिटी शो ‘बिग बोस’ को सिजन –५ मा सहभागी हुने मौका समेत पाइन् ।

तर पछिल्ला वर्षहरुमा परिस्थिति फेरिएको थियो । शोभराजलाई भेट्न कारागार जान छाडिन् । शोभराजले चाहिं जेलबाट उनलाई फोन गर्न छाडेका थिएनन् । कारागार स्रोतका अनुसार निहितालाई ‘वाइफ’ भनेरै सम्बोधन गर्थे भने उनकी आमा शकुन्तला विश्वासलाई ‘मदर इन ल’ भन्थे ।

पछिल्ला वर्षहरुमा शकुन्तलाको आउजाउ पनि पातलिएको थियो । कतिपय अवस्थामा उनीसँग जेलभित्र पैसाको अभाव हुन्थ्यो । कारागारमा उनी जति कष्टकर जीवन विताइरहेका थिए, निहिता पनि त्यति नै उनको जीवनबाट टाढिंदै गएको स्रोतको दाबी छ । शकुन्तलाले पनि तीन महिना अघि आफूले चार्ल्सको मुद्दा हेर्न छाडेको बताएकी थिइन् ।

बुधबार सर्वोच्च अदालतबाट शोभराजलाई छाड्ने आदेश आएलगत्तै सञ्चारमाध्यमहरुले निहितालाई सम्पर्क गर्ने कोशिश गरेका थिए । तर उनी सम्पर्कमा आइनन् । 

जानकारी अनुसार पछिल्लो समय निहिता र शकुन्तलाले उनलाई खुलेर सहयोग गरेका थिएनन् । बुधबार पनि यस्तै भयो । शोभराज जेलबाट छुट्न जिल्ला अदालत, भक्तपुरबाट पत्र ल्याउनुपर्ने थियो । स्रोतका अनुसार शोभराजका कानुन व्यवसायीहरुलाई निहिताले आफू भक्तपुर गएर चिठ्ठी ल्याउने बताएकी थिइन् । तर व्यस्तता देखाएर ल्याइनन् ।

पछि शोभराजका कानुन व्यवसायी आफैं गए । कानुन व्यवसायीले जिल्ला अदालत, काठमाडौं र भक्तपुरको पुराना फैसलाको कागजात शकुन्तला र निहितासँग मागेका थिए । त्यसमा पनि सहयोग नभएको उनीहरुको गुनासो छ ।


बिहीबार चाहिं शोभराजलाई भेट्न कानुन व्यवसायी शकुन्तला केन्द्रीय कारागार, सुन्धारा पुगेकी थिइन् । तर कारागार प्रशासनले उनी छुटिहाल्ने भन्दै कसैलाई भेट्न दिएन । निहिता भने गइनन् । शुक्रबार कारागारबाट शोभराज निस्किंदै गर्दा निहिता अध्यागमन विभागमा पुगेकी थिइन् । शोभराज पुग्दा निहिता त्यहीं थिइन्, तर चार्ल्सले भेट्न चाहेनन् । शकुन्तलासँग पनि शोभराजको भेट भएन । अध्यागमन श्रोतका अनुसार चार्ल्सले नै भेट्न अस्विकार गरेपछि उनीहरुको भेट हुन पाएन।

फ्रान्सबाट शोभराजका परिवार र आफन्तले खर्च पठाएका थिए भने यसको सबै चाँजोपाँजो उनका कानुन व्यवसायीहरुले नै मिलाएका थिए । अध्यागमन विभागमा भेटिएकी निहिताले पनि शोभराजसँगको सम्बन्धबारे खुलेर कुरा गर्न चाहिनन् । आफूलाई शोभराजको श्रीमतीको रुपमा चिनाउन समेत चाहिनन् । 

पेरिसमा शोभराजकी जेठी श्रीमती छन्थल कम्पाग्नन र छोरी उषा छन् । पहिलो छन्थलसँग पनि उनले प्रेम विवाह गरेका थिए । सन् १९६९ मा एक पार्टीमा उनलाई भेटर जुन दिन विवाहको प्रस्ताव राखेका थिए, त्यही दिन उनी कार चोरीको आरोपमा पक्राउ परेका थिए । ८ महिनापछि छुटेर उनले विवाह गरेका थिए ।

उनीसँग शोभराजको डिभोर्स भइसकेको छ । छोरी उषा अमेरिकी सरकारसँग जोडिएर ‘काउन्टर टेरोरिज्म’ र ‘होमल्याण्ड सेक्युरिटी’का लागि काम गर्छिन् । शोभराजसँग उनीहरुको अहिले सम्पर्क नभएको बताइन्छ । यद्यपि, शोभराज कारागारमा रहँदा हप्तामा दुईदेखि तीन पटकसम्म पेरिसमा सम्पर्क गरिराख्थे । त्यहाँ उनको परिवारका अन्य सदस्यहरु भएको बताइन्छ ।

शोभराजले २१ डिसेम्बर १९७५ मा भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियरे र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेका थिए । ‘विकिनी किलर’ भनेर चिनिने शोभराज ०६० असोज २ गते काठमाडौंको क्यासिनो रोयलबाट पक्राउ परे। उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 

यो पनि,

विशेष