अमेरिकामा नेपाली दुतावासको गाडी लुटपाट, ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ लुटियो
अमेरिका स्थित नेपाली दुतावासको गाडी लुटपाट भएको छ। अमेरिकाको ह्यूस्टनमा नेपाली राजदूतावासले कन्सुलर सेवा शिविर सञ्चालनमार्फत जम्मा गरेको रकम लुटिएको छ ।
राजदूतावासले १५ देखि २० डिसेम्बरसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गर्दा सेवाग्राहीबाट शुल्कबापत जम्मा भएको ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ लुटिएको हो ।
वासिङटनस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी र कुटनीतिक सुरक्षा महाशाखालगायत निकायहरूमा उजुरी गरिसकेको र लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिने प्रयास भइरहेको जनाएको छ ।
लुटिएको रकम फिर्ताका लागि सार्वजनिक रूपमा सहयोगका लागि अनुरोध गर्दै दूतावासले विज्ञप्तिमा आफ्ना कर्मचारीहरु २२ डिसेम्बरमा ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समयअनुसार दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भई लुटिएको उल्लेख गरेको छ ।