News

प्रचण्डलाई फकाउन खुमलटार पुगेका पौडेल निरास भएर फर्किए

प्रचण्डलाई फकाउन खुमलटार पुगेका पौडेल निरास भएर फर्किए

नयाँ सरकार गठनमा कांग्रेसलाई पहिलो नेतृत्व दिन आग्रहका लागि पुष्पकमल दाहाललाई फकाउन खुमलटार पुगेका रामचन्द्र पौडेल निरास भएर फकिएका छन् ।

वर्तमान सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन भए पहिलो ‘लट’मा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडानमा देखिएका दाहालसँग छलफल गर्न कांग्रेस वरिष्ठ नेता पौडेल शनिबार बिहान खुमलटार पुगेका थिए। 

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्नुअघि कांग्रेस नेता पौडेल र अध्यक्ष दाहालबीच छलफल भएको हो। स्रोतका अनुसार नेता पौडेलसँगको छलफलमा पनि आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडानमा दाहालले यथावत् राखेका छन्। 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बालुवाटारमा दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। यसअघि शुक्रबार बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीचको छलफल बिना निष्कर्ष टुंगिएको थियो। 

सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहे पनि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो दल नेकपा माओवादी केन्द्रबीच सहमति जुट्न सकेको छैन।

नयाँ सरकार कसले पहिले आफूले नेतृत्व गर्ने भन्ने विषयमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालबीच कुरा नमिल्दा सहमति जुट्न नसकेको हो।  

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्। 
 

विशेष