News

२/२/१ वर्षको पालो गरेर प्रधानमन्त्री खाने तीन शीर्ष नेताको सहमति

२/२/१ वर्षको पालो गरेर प्रधानमन्त्री खाने तीन शीर्ष नेताको सहमति

सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेताले आलोपालोमा प्रधानमन्त्री चलाउने सहमति गरेका छन् । शनिवार बालुवाटारमा वसेको वैठकले प्रधानमन्त्रीमा २/२/१ वर्षको पालो गर्ने सहमति गरेको श्रोतको दावी छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका हुन।

सहमति अनुसार कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् । 

तर पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने सहमति जुटेको छैन। देउवा र दाहाल विच पहिलो प्रधानमन्त्री बन्ने होडवाजी छ। बैठकमा माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीमा पहिले आफूलाई पालो दिनुपर्ने बताएका छन् ।

बैठकमा सहभागी अर्का एक नेताका अनुसार कांग्रेस सभापति देउवाले दाहालको प्रस्तावलाई अस्वीकार गरेनन् । तर पार्टीका नेताहरुले अहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने दबाव दिइरहेको भन्दै उनले भनेका छन्, ‘साथीहरुले मानेका छैनन् । पहिले म हुनुपर्छ भन्ने साथीहरुको कुरा छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने को पहिले भन्ने विवादलाई ठूलो नबनाउन र आपसमा सहमति खोज्न सुझाएका छन् । 

नेताहरुले भने आज बिहान १० बजे बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउने र राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी गर्ने वताएका छन् । आजको वैठकले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको बाँडफाँटको टुंगो लगाउने उनीहरुले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ३ गते सूचना जारी गर्दै दलहरुलाई सरकार गठनका लागि सात दिनको समय दिएकी थिईन। सो समय आज साँझ ५ वजे सकिदैछ। संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन् ।

दाबी पेस गर्ने म्याद सकिन लाग्दा पनि दलहरूले भने सहमति गर्न सकेका छैनन् । हालको सत्ता गठबन्धनले सरकार गठन गर्ने तयारी गरे पनि कसलाई प्रधानमन्त्री बनाउने भन्ने टुंगो लगाउन नसक्दा किचलो बाँकी नै छ। संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भने औपचारिक रुपमा सरकार गठनको प्रयास गरेको छैन । सत्ता गठबन्धनका नेताहरूले भने आजै दाबी पेस गरिने बताएका छन् ।
 

विशेष