News

प्रचण्डको व्रिफिङः प्रधानमन्त्री नपाए गठबन्धन टुट्छ

प्रचण्डको व्रिफिङः प्रधानमन्त्री नपाए गठबन्धन टुट्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिले आफूले प्रधानमन्त्री नपाए गठबन्धन टुट्ने बताएका छन् । दाहालको भनाईमा वर्षमान पुन र जनार्दन शर्मालगायत नेताले समर्थन समेत जनाएका छन् ।

दाहालले पछिल्लो समय पार्टीका शीर्ष नेताहरूसँगको भेटवार्ता नेपाली कांग्रेसले अहिले प्रधानमन्त्री दिने सम्भावना निकै कम देखिएकाले गठबन्धनबाट बाहिरिने सम्भावना बढेको बताएको एक शीर्ष नेताले जानकारी दिए ।

‘गठबन्धन लगभग टुट्यो भन्ने हाम्रो बुझाइ छ । चुनावी तालमेलमा पनि हामीले धोका पाएका छौँ । पहिलो प्रधानमन्त्री पनि हामीले नपाउने भएपछि किन गठबन्धनमा बस्ने ?’ एक नेताले भने–‘हामी प्रतिपक्षमा बस्ने सम्भावना बढेर गएको छ,’

दाहालले प्रतिपक्षमा वस्ने भनेपनि चिनियाँ दवावमा एमालेसँग मिलेर सरकार वनाउने सम्भावना प्रवल रहेको श्रोतको दावी छ।

यही विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी यही बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् ।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २÷२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ । यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन ।

सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिको सम्भावनालाई ख्याल गर्दै कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेका छन् । पछिल्लो पटक कांग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । 

विशेष