News

गठबन्धनको वैठक छोडेर प्रचण्ड निस्किए, एमालेसँग सम्वाद सुरु

गठबन्धनको वैठक छोडेर प्रचण्ड निस्किए, एमालेसँग सम्वाद सुरु

बालुवाटरमा जारी सत्ता गठबन्धनको वैठक छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वाहिरिएका छन् । शक्ति बाँडफाँटको विषयमा कुरा नमिलेपछि उनी बालुवाटारबाट बाहिरिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि दहाल त्यहाँबाट बाहिरिएका हुन् । 

दाहालले वैठक छोडेपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् ।

एक पदाधिकारी भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने कांग्रेसको अडानपछि गठबन्धन संकटमा देखिएको छ, त्यसैले एमालेसँग पनि संवाद सुरु गरेका हौं ।’

माओवादीका नेताहरुले एमालेका दोस्रो तहका नेताहरुसँग संवाद गरिरहेका छन् । उनीहरु दाहाललाई प्रधानमन्त्री पद दिएर अन्य पद बाँडफाँट गर्ने गरी सहमति गर्न तयार देखिएका माओवादी स्रोत बताउँछ ।

तर दुई अध्यक्षको स्तरमा कुराकानी नभएकाले यो प्रक्रियाले पूर्णता पाउँछ कि पाउँदैन अहिले नै टुंगो छैन । आइतबार माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने देउवाको सन्देश सुनाएका थिए । उनले दाहाललाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।

निधिसँगको कुराकानीबारे पार्टीका पदाधिकारीलाई ब्रिफिङ गर्दा दाहालले गठबन्धन संकटमा परेको बताएका थिए । बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । 

विशेष