News

रामचन्द्र पौडेलको घोषणाः गठबन्धन टुट्यो

रामचन्द्र पौडेलको घोषणाः गठबन्धन टुट्यो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन टुटेको बताएका छन् । आइतबार बालुवाटारमा बसेको बैठकपछि उनले यस्तो बताएका हुन।

गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको उनले जानकारी दिएका हुन् । 

‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन,’ पौडेलले भने । गठबन्धन जोगाउन खोजेको तर नसकेको बताएका छन् । उनले गठबन्धनको बैठकमा माओवादी अध्यक्ष दाहालले सहमति हुन नसकेपछि कुरा सकिएको बताए ।

पौडेलले भने, ’गठबन्धन कुनै पनि हालतमा जोगाउ भनेका थियौं तर अब हाम्रो हातमा केही पनि रहेन ।’ राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँटमा कुरा नमिल्दा गठबन्धन सकिएको पौडेलको भनाइ थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै हिँडेपछि पौडेल निरास भएका छन् । अध्यक्ष दाहाल एमाले अध्यक्ष ओलीसँग संवाद गर्न बालकोटतर्फ गएका छन् ।

पौडेलले यसअघि गठबन्धनलाई जोगाउन आफै दौडधुप गर्दै आएका थिए । गठबन्धनमा पहिलो पालीमा कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै आइरहेका थिए । 
 

विशेष