News

वडा अध्यक्षलाई लात्तीले हानेर पोखरीमा चोवल्ने डिएसपी पक्राउ

वडा अध्यक्षलाई लात्तीले हानेर पोखरीमा चोवल्ने डिएसपी पक्राउ

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई सुन कारोवारीसँग रकम असुलेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए । तर, निवासमै भएका बेला उनी पक्राउ परे।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै पुगेको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले डीएसपी केसी नियन्त्रणमा परेकोबारे आधिकारिकता बुझ्ने क्रममा रहेको बताए । केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेको छ ।

व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको स्रोतको दाबी छ । तर केसीले भने आफूलाई बदनाम गराउन खोजिएको दाबी गरेका छन् ।

डिएसपी केसीले गत साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद हुँदा वडाध्यक्षलाई लात्तीले हानेर पोखरीमा फ्याँकिदिएका थिए । 
 

विशेष