News

उपप्रधानमन्त्री बन्दै नारायणकाजी, दौरा सिलाउँदै प्रचण्ड

उपप्रधानमन्त्री बन्दै नारायणकाजी, दौरा सिलाउँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ।

सोमबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो। 

प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिउँसो ४ बजे शपथ लिँदैछन्। दाहालले दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।

त्यसको तयारीका लागि आइतबारै नापो लिएर दौरा सुरुवाल सिलाउन पठाएको पारिवारीक स्रोतले बतायो । स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको छ ।

प्रचण्डले दौरा सुरुवाल लगाएको देखिएको छैन । उनले प्रायः सुट लगाउने गरेका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले दौरा सुरुवाल अहिलेसम्म नलगाएको बताए । 

दाहालले आजै सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी गरेका छन। १ सय ६९ सांसदको समर्थन पाएका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेकी  थिइन्।
 

विशेष