News

कांग्रेस एम्वाप्पे भयो, गोल्डेन वुट त पायो तर कप अर्कैले लग्यो: विश्वप्रकाश

कांग्रेस एम्वाप्पे भयो, गोल्डेन वुट त पायो तर कप अर्कैले लग्यो: विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई फ्रान्सका फुटवलर केलियन एम्वाप्पेसँग तुलना गरेका छन् । एम्वाप्पेले धेरै गोल गरेर गोल्डेन वुट पाए पनि स्वर्ण कप भने अर्कैले लगेको भन्दै कांग्रेसको पनि सोही हालत भएको शर्माले वताए ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलसँग तुलना गरेका उनले फ्रान्सका एम्बाप्पेले सर्वाधिक गोल हानेजस्तै कांग्रेसले मंसिर ४ को चुनावमा धेरै सिट जितेर उपाधि गुमाउनु परेको टिप्पणी गरे। 

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा बोल्दै उनले भने, ‘अस्ती विश्वकप भएको थियो नि, सबैभन्दा बढी गोल एम्बाप्पेले गरे। गएको मंसिर ४ को निर्वाचनमा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो। तर भयो के भन्दा एम्बाप्पेले सबैभन्दा बढी गोल ग¥यो, गोल्डेन बुट पनि जित्यो। तर कप चै अर्कैले लग्यो क्या।’ 

उनले पाँच वर्षपछि कांग्रेस उदाउने दाबी गरे। ‘अहिलेको च्याम्पियनलाई हामी ५ वर्षपछि डिफेन्डिङ च्याम्पियन बनाउँछौं। हामी विजयी हुन्छौं। देशभर सोध्दै गर्दा मैले भनेको सुरूवाती वाक्य नै डन्ट वरी। हामी छौं हो’, उनले भने, ‘जब केही भत्कन्छ, निर्माणको सुरूआत त्यहीँबाट हुन्छ। नेपाली कांग्रेसका लागि यो टर्निङ पोइन्ट हो। अहिले नहुनुपर्ने भयो। जे नहुनुपर्थ्यो भयो। कोही कोही बेला जे भएको छ ठीकै भएको छ भन्ने लाग्छ।’

आईतवार गठबन्धनमा कुरा नमिल्दा नेपाली कांग्रेसले मुखैमा आएको सत्ता गुमाएको छ। केन्द्रदेखि सातै प्रदेशमा अब कांग्रेसले सरकार बनाउन सक्ने अवस्था छैन। कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने मौखिक सहमति गरे पनि पहिलो कार्यकाल छाड्न नमान्दा रन्थनिएका पुष्पकमल दाहाल एमालेसँग मिलेपछि कांग्रेसको हातबाट सत्ता फुत्किएको हो।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरू मिलेर नयाँ प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बनाएका छन्।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पु¥याएर सरकार बनाउन १३८ सांसद भए पुग्छ। प्रचण्डका पक्षमा १६९ सांसदको समर्थन जुटेको छ।

नयाँ गठबन्धन बनेर प्रचण्ड प्रधानमन्त्री भएसँगै ८९ सांसद रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्नुपर्ने भएको छ। नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि प्रतिपक्षमा बस्ने भएका छन् । 

विशेष