News

रविको बोल्ड निर्णय– भीआईपीको नियमविपरीतका पीएसओ ४८ घण्टाभित्र खोसिने

रविको बोल्ड निर्णय– भीआईपीको नियमविपरीतका पीएसओ ४८ घण्टाभित्र खोसिने

रवि लामिछाने गृहमन्त्रीमा नियुक्ति भएको भोलिपल्ट गृह मन्त्रालयले बोल्ड निर्णय गरेको छ। गृहमन्त्रालयले कार्यविधिविपरीत भीआईपीको पीएसओ र सेवा सुविधा ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिएको छ।

कार्यविधिमा बहालवाला तथा पूर्वकर्मचारी तथा सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनका लागि विशिष्ट व्यक्तिको सुरक्षा र सम्मानलाई ध्यान दिएर सरकारले व्यक्तिगत सुरक्षा प्रदान गर्दै आएको छ ।

मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव फणिन्त्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा कार्यविधि पालना गरेर सहयोग गर्न पनि अनुरोध गरिएको छ। 

यसअघि केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका तत्कालिन गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले पनि यही निर्णय गरेका थिए। बादलले ०७७ साल वैशाख १ गते अत्यावश्यक बाहेकका सुरक्षाकर्मीलाई तुरुन्त नेपाल भारत सिमामा खटाउन निर्देशन दिएका थिए ।
 

विशेष