News

राजेन्द्र लिङदेन सरकारमा नजानुका पछाडि यस्ता छन् गम्भिर कारण

राजेन्द्र लिङदेन सरकारमा नजानुका पछाडि यस्ता छन् गम्भिर कारण

सात वटा पार्टीको समर्थसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भए। तर, दाहाललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने पहिलो वचन दिएका थिए, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन भने सरकार वाहिर छन् ।

राप्रपा सरकारमा किन गएन भन्ने धेरैलाई चासो छ। खासमा सुरुपमा सरकारमा नगए पनि राप्रपा अर्को चरणमा सरकारमा सहभागी हुने जनाईएको छ। राप्रपा नेतृत्वले सरकारमा सहभागी हुन मुद्दाहरूको ‘सुरक्षित अवतरण’ खोजेका कारण पहिलो चरणमा सरकारमा नगएको एक नेताले वताए ।

राप्रपा राजसंस्थाको पुनर्स्थापना र हिन्दू राष्ट्रको घोषणा तथा प्रदेश खारेजीको एजेण्डा लिएर निर्वाचनमा गएको थियो। त्यसैले अहिले नै आफना मुद्दाहरुको सम्वोधन नगरी सरकारमा जाँदा सत्ता लोलुपताको आरोप लाग्ने भएकाले राप्रपा नेतृत्व सरकारमा जान डराएको हो । राप्रपा महामन्त्री ध्रुवबहादुर प्रधान आफूहरूले उठाएको एजेन्डामा कुनै न कुनै रूपमा समझदारी बन्नुपर्ने बताउँछन्।

कुनै समझदारी नगरी सरकारमा सहभागी हुँदा जनताको बीचमा पदलोलुप भएको बिल्ला पाइएला भन्ने डरमा राप्रपा नेतृत्व छ। एजेन्डालाई सम्बोधन हुने गरी कम्तिमा एउटा सामान्य न्यूनतम समझदारी नगरी सरकारमा गए कमल थापाकै अवस्थामा पुगिने नेताहरुमा डर छ।

राजसंस्था, हिन्दूराष्ट्र र प्रदेश खारेजीको विषयमा यो सरकारले कुनै निर्णय र सम्झौता गर्न नसक्ने राप्रपाका नेताहरू नै स्वीकार गर्छन्। तर, भ्रष्टाचार नियन्त्रण, किसानलाई मल उपलब्ध गराउने, सरकारी सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने तथा पृथ्वी जयन्तीका दिन बिदा दिने विषयमा समझदारी बनाउन सकिनेमा उनिहरु अडिग छन् ।

त्यसबाहेक राप्रपाले सरकारलाई निर्देशन दिने गरी सबै दलका प्रतिनिधि सहभागी भएको एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेको छ। राप्रपा महामन्त्री प्रधान उक्त समितिले सरकारले गरेका कामको नियमन गर्ने बताउँछन्।

आफूहरूले उठाएका माग सम्बोधनबारे कुनै न कुनै खालको समझदारी बनोस् भन्ने राप्रपा नेतृत्वको चाहना छ। ‘मुलुक फेरि मध्यावधि निर्वाचनमा नजाओस् र राप्रपाले समर्थन नगर्दा सरकार नबन्ने अवस्था सिर्जना नहोस् भनेर हामीले सहयोग गरेका हौँ’ एक नेता भन्छन्–‘हामीले उठाएका मागबारे सम्बोधन भए सरकारमा सहभागी हुनलाई कुनै समस्या छैन।’

आफ्नो नाम उल्लेख गर्न नचाहने राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका एक सदस्यका अनुसार अध्यक्ष लिङ्देन पार्टी सरकारमा जाने निर्णयले पार्टीमा कुनै फुट नआओस् भन्ने चाहन्छन्। त्यसकारण पार्टीभित्रको समीकरण हेरेर मात्र त्यस विषयमा निर्णय हुने ती केन्द्रीय सदस्यले वताए ।

विगतमा सरकारमा जाने र नजाने विषयले राप्रपा विभाजित भएको इतिहास छ। त्यसकारण विगतको जस्तो अवस्था नदोहोरियोस् भनेर नेतृत्व सचेत रहेको उनले वताए ।

राप्रपामा नवराज सुवेदी, टंक ढकाल, हरि बस्नेत लगायतका नेता सरकारमा जाँदा पार्टीलाई पदलोलुपको आरोप लाग्ने भएकाले बाहिर बसेर सहयोग गर्नुपर्ने बताइरहेका छन्। अध्यक्ष लिङ्देननिकट राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका एक सदस्यले लिङ्देन सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहे पनि पार्टीमा एकमत नभएसम्म सरकारमा जान हिच्किइरहेका छन्।
 

विशेष