News

सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरीका तीन वटा जन्ममिति

सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरीका तीन वटा जन्ममिति

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेर विवाद यतिबेला सर्वाधिक चासोको विषय बनेको छ । पीडित किशोरीका तीन वटा जन्म मिति प्रकाशमा आएका छन् ।

श्रोतका अनुसार सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवादका सम्बन्धमा निरुपण गर्नका लागि काठमाडौं जिल्ला अदालतले माग गरेको कागजातमा किशोरीको जन्म मिति सरकारी अभिलेखमा २०६१ असार १८ गते उल्लेख रहेको पाइएको छ ।

यसअघि किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको प्रतिवादी सन्दीप लामिछाने पक्षका वकिलहरुले दावी गरेका थिए । यता वादी अर्थात् नेपाल सरकारको पक्षबाट बहस गरिरहेका अधिवक्ता र सरकारी वकिलहरुले भने किशोरीको जन्म मिति २०६२ जेठ १८ गते नै रहेको र वारदात भएको भनिएको समयमा उनी नाबालिग नै रहेको दावी गरिरहेका छन् ।

किशोरीको जन्म मिति खुल्ने विद्यालयको सर्टिफिकेट, उनले लिएको जन्मदर्ताको प्रतिलिपि र नागरिकतामा उनको जन्म मिति २०६२ साल जेठ १८ गते उल्लेख छ । यसरी तीन वटा जन्म मिति सार्वजनिक भएपछि आधिकारिक कुनलाई मान्ने भन्नेबारे प्रश्न उठेको छ ।

जन्म मिति २०६२ जेठ १८ गते मान्ने हो भने वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते राति र भदौ ६ गतेको बिहानसम्मको समयमा उनको उमेर १७ वर्ष मात्रै पूरा भएको हुन्छ । सन्दीपविरुद्ध जाहेरी दिने किशोरीले आफूमाथि २०७९ भदौ ५ गतेको रातिदेखि भदौ ६ गतेको बिहानसम्म दुईपटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । 

किशोरीको उमेरका सम्बन्धमा सरकार वादी भएर दायर भएको मुद्दामा वादी पक्षले किशोरीको जन्म मिति २०६२ जेठ १८ गते रहेको कागजात पेश गरेका छन् । किशोरीको जन्म मिति खुल्ने कागजातमा उनको नागरिकताको फोटोकपी र शैक्षिक प्रमाणपत्रको फोटोकपी पेस गरिएको छ । यो मितिले गणना गर्दा वारदात भएको भनिएको समय २०७९ भदौ ६ गते उनको उमेर १७ वर्ष ३ महिना मात्रै पुगेको हुन्छ । यस्तो अवस्थामा आपसी सहमतिमै करणी लेनदेन भएपनि त्यसलाई अपराध र बलात्कार मानिने कानुनी व्यवस्था छ ।

तर किशोरीले आफू पढेको कास्कीस्थित विद्यालयमा पेस गरेको कागजात र विद्यालयको दर्ता किताबमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते उल्लेख छ । किशोरी आफैले भरेको फारममा उनले आफ्नो जन्म मिति २०६१ जेठ १८ गते उल्लेख गरेकी छन् । यसलाई जन्म मितिका रुपमा मान्ने हो भने वारदात भएको भनिएको समयमा किशोरीको उमेर १८ वर्ष ३ महिना पूरा भएको हुन्छ र यसलाई सहमतिको यौनसम्बन्धका लागि पुगेको उमेर मानिन्छ ।

तर सबैभन्दा महत्वपूर्ण र प्रमाणका रुपमा लिन मिल्ने स्थानीय तहमा रहेको जन्मदर्तामा किशोरीको जन्ममिति २०६१ असार १८ गते रहेको पाइएको छ । नुवाकोटको एक स्थानीय तहले काठमाडौैं जिल्ला अदालतमा पठाएको उमेर खुल्ने कागजात र त्यससँग सम्बन्धित प्रमाणमा किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको उल्लेख छ ।

काठमाडौं जिल्ला अदालतले कागजात माग गरेपछि उनको स्थायी ठेगाना रहेको नुवाकोटको एक स्थानीय तहले करिब १५ दिन पहिले नै जन्मदर्ता खुल्ने दर्ता किताब (ढड्डा) सहितको कागजात काठमाडौं जिल्ला अदालतलाई पठाएको थियो । उक्त दर्ता किताबमा उनको जन्म मिति २०६१ असार १८ गते रहेको उल्लेख छ ।

किशोरीको परिवार अन्यत्र स्थानबाट नुवाकोटमा बसाईसराई गरी लिएको कागजात र प्रमाणपत्रमा किशोरीको जन्म मिति २०६१ असार १८ नै उल्लेख छ । स्मरणीय के छ भने सरकारी तथ्यांकमा दर्ता भएको किशोरीको उमेर खुल्ने पहिलो दर्ता २०७३ साल असोज ११ गते भएको थियो । सरकारको आधिकारिक निकायमा भएको पहिलो दर्तामा उनको जन्म मिति २०६१ असार १८ गते उल्लेख छ ।

बसाईसराईको फारम भर्दा र अन्यत्रबाट बसाईसराई गरी उक्त स्थानमा जाँदा भरेको अनुसूची फारम र उमेर खुल्ने कागजातमा किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको देखिन्छ ।

तर सोही स्थानीय तहबाट किशोरीले लिएको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिमा भने उनको जन्म मिति २०६२ जेठ १८ गते राखिएको छ । २०७५ साल वैशाख १८ गते लिइएको जन्मदर्ताको प्रतिलिपिमा उनको जन्म मिति २०६२ जेठ १८ गते उल्लेख छ । सोही स्थानीय तहले आफ्नो तथ्यांक नहेरी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि दिएको पाइएको छ ।

सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीको उमेर १८ वर्ष पुगिसकेको प्रमाणित भएमा उक्त मुद्दामा व्यापक परिवर्तन हुन सक्नेछ । किशोरी होटलको कोठामा जाँदा हाँसीखुसी गएको र रिसेप्सनबाट आफैले साँचो लिएर गएको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । भोलिपल्ट होटलबाट बाहिर निस्कँदा पनि किशोरी सन्दीपको हात समात्दै निस्किएको देखिएको छ ।

यदि किशोरीको उमेर १८ वर्ष पुगेको प्रमाणित भएमा र त्यहाँ जबरजस्ती भएको कुनै चिन्ह वा प्रमाण नदेखिएको अवस्थामा न्यायालयले यसलाई ‘सहमति’ समेत मान्न सक्ने हुन्छ । यदि किशोरीको उमेर १८ वर्ष पुगेको प्रमाणित भएको अवस्थामा भने सन्दीपले सफाइ पाउने सम्भावना समेत बलियो बन्नेछ ।

क्रिकेटर लामिछाने गत भदौ ६ गते साँझ केन्याविरुद्ध एकदिवसीय क्रिकेट खेल्न नौरोबी गएका थिए । त्यसको १५ दिनपछि अर्थात् २०७९ भदौ २१ गते किशोरीले महानगरीय प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् ।

किशोरीको जाहेरीमा सन्दीपले आफूलाई भदौ ५ गते कतै घुम्न निस्कौँ भनेर जबरजस्ती कारमा राखेर नगरकोट लगेको र आफूलाई त्यहीँ बलात्कार गर्न खोजेको भए पनि आफूले त्यहाँ बस्न नमानेकाले ढिला गरी काठमाडौं ल्याएर आफू बस्ने गरेको होस्टल बन्द भएपछि होटलमा पु¥याएर करणी गरेको जाहेरी दिएकी थिइन् । लामिछानेले आफूमाथि डर धम्की देखाई भदौ ५ गते रातिदेखि भदौ ६ गतेको बिहानसम्म गरी दुईपटक जबरजस्ती करणी गरेको उनको आरोप छ ।

विशेष