News

धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थीको प्रदर्शन, ११ जना पक्राउ

धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थीको प्रदर्शन, ११ जना पक्राउ

ग्रेडरले किचेर स्कुले छात्राको मृत्युपछि विरोधमा उत्रिएका विद्यार्थीहरूको प्रदर्शन अनियन्त्रित बन्न थालेको छ । विद्यार्थीले निशेधाज्ञा तोडेर प्रदर्शन गर्न थालेका छन्।

कैलाली प्रशासनद्वारा जारी निषेधाज्ञा तोड्दै उनीहरू शुक्रबार प्रदर्शनमा उत्रिएका छन् । निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरवितर भएका छन् । साथै प्रहरीले विद्यार्थी र स्थानीय महिला गरी ११ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए ।
 
बिहीबार बिहान ग्रेडरले कुल्चिएर धनगढीस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको घटनास्थलमै मृत्यु भएको थियो । छात्राको मृत्युपछि विद्यार्थीहरू प्रर्दशनमा उत्रिएका थिए । अवस्था तनाबग्रस्त बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा मृतकका अभिभावकहरुसँग छलफल चलिरहेको भए पनि सडकमा उत्रिएका विद्यार्थीहरूको प्रदर्शन अनियन्त्रित रहेको पञ्चोदय मावि अभिभावक संघका अध्यक्ष ज्योति भट्टले बताए । 

मृतकका अभिभावक कानुनी उपचार खोज्न सहमत हुँदै आन्दोलनमा नलाग्न भनिरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । 

धनगढीमा विभिन्न विद्यालयका विद्यार्थीहरू शुक्रबार बिहानैदेखि निशेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका छन् । बैतडी घर भई धनगढी–५ तारानगर बस्ने छात्रा साउँदलाई हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो । 
 

विशेष