News

अन्ततः माधव नेपालले दिए सरकारमा जाने संकेत

अन्ततः माधव नेपालले दिए सरकारमा जाने संकेत

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा जाने संकेत गरेका छन् ।

गैरभौगोलिक कमिटीका नेताहरुलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी सरकारमा सहभागी हुन सक्ने संकेत दिएका हुन् ।

बैठकमा अध्यक्ष नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेपछि विकसित घटनाक्रमबारे जानकारी दिएका थिए । सोही क्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजाने भन्ने सुझावसमेत माग गरेका थिए । 

सरकारमा गएर जनतासँग जोडिने मन्त्रालय लिएमा पार्टी निर्माणमा सहयोग पुग्ने सुझाव अध्यक्ष नेपाललाई दिइएको एक नेताले वताए । 

अध्यक्ष नेपालले एमाले छोडेका घनश्याम भुसाल आफ्नो पार्टीमा आउने सम्भावना रहेको पनि बताएका छन्। भुसालले निर्वाचनमा असन्तुष्टि जनाउँदै एमाले छोडेका थिए। उनले तत्कालीन सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए।

यसैगरी, एमालेमा असन्तुष्ट रहेका भीम रावलसँग कुराकानी भएको भए पनि कुरा धेरै अगाडि नबढेको बताए। भीम रावलले भने टिकट नपाएको भन्दै असन्तुष्टि जनाए पनि पार्टी भने छोडेका छैनन्। उनलाई एमालेले कुनै जिम्मेवारी समेत दिएको छैन।

नेपालले अहिले कुनै पनि पार्टीसँग एकता गर्ने विषय अघि नबढेको समेत बताएका थिए।
 

विशेष