News

५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति, संयोजकमा ओली

५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति, संयोजकमा ओली

सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको र त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाईएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार हरेक दलका एक÷एक जना रहने यो संयन्त्रको बैठक भोलि नै बस्न सक्छ । ओली नेतृत्वको संयन्त्रले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने सहमति पनि भएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएको बैठकमा मन्त्रालय भागवण्डाबारे पनि छलफल भएको थियो ।

मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको लामिछानेले बताए । उनले मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिने बताए । मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको उनको भनाइ थियो ।

संसदबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेको बताइएको छ । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ ।

सरकारमा सहभागी हुँदा राप्रपाले ३ र नागरिक उन्मुक्तिले २ मन्त्रालयमा दाबी गर्ने जनाउ दिएका छन । तीन स्वतन्त्र सांसदले पनि एक÷एक मन्त्रालय लिने बताएका छन । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।
 

विशेष