News

तीन प्रदेशमा एमालेका मुख्यमन्त्री निश्चित

तीन प्रदेशमा एमालेका मुख्यमन्त्री निश्चित

माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनेपछि सत्ता गठबन्धनमा लगातार शक्ति बाँडफाँटको छलफल भईरहेको छ। नेकपा एमालेले चारवटा प्रदेश सरकार रोजेर लिने भएको छ । तर, शीर्ष तहमा औपचारिक रूपमा कुन प्रदेश कसले पाउने भन्ने टुंगो भने लागिसकेको छैन ।

एमाले नेताले भने आफुहरुले पाउने प्रदेश प्रष्टै रहेको बताएका छन् । स्थायी कमिटी सदस्य संसदीय दलको नेता भएका ठाउँमा माओवादीको दाबी नरहने उनीहरुको भनाई छ। वागमती र लुम्बिनीमध्ये एमाले तथा माओवादीले एक–एकवटा बाँड्ने नेताहरु बताउँछन् ।

एमालेका तीनजना स्थायी कमिटी सदस्य प्रदेशमा चुनाव लडेका थिए । तीमध्ये हिक्मत कार्की प्रदेश १, खगराज अधिकारी गण्डकी र यामलाल कँडेल कर्णालीमा संसदीय दलको नेता चयन भइसकेका छन् । यी नेता मुख्यमन्त्री बन्ने तय भइसकेको र यसमा शीर्ष तहमै टुंगो लागिसकेको छ ।

एमालेले यी तीन प्रदेशबाहेक वागमती वा लुम्बिनीको नेतृत्व पाउनेछ । यसपटक उत्कृष्ट नतिजा दिने प्रदेशमध्ये वागमतीभन्दा लुम्बिनी रहेकाले एमालेको स्थानीय नेतृत्वले लुम्बिनीको दावी गरेको छ । तर संघीय राजधानी समेत रहेको प्रदेश भएकाले एमालेको दावी वागमतीमा पनि यथावत छ ।

वागमति संसदीय दलमा चितवनका जगन्नाथ थपलिया सर्वसम्मत चयन भइसकेका छन् । लुम्बिनीमा एमालेका सिनियर नेतामध्ये रुपन्देहीका लीला गिरी नै मुख्यमन्त्रीका दाबेदार हुन् । वागमतिमा माओवादीबाट शालिकराम जमरकट्टेल, सरल सहयात्री र युवराज दुलाल दाबेदार छन् ।

लुम्बिनीमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रहिसकेका नेता जोखबहादुर महरा दाबेदार छन् । ओली र दाहालकै तहमा छलफलपछि वागमति र लुम्बिनीको टुंगो लाग्ने नेताहरुले बताएका छन् । यसबाहेक माओवादीले सुदूरपश्चिमको पनि नेतृत्व पाउनेछ । मधेस प्रदेशमा भने पेचिलो अवस्था छ ।

प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो । तर, यहाँ तीनभन्दा बढी दल मिलेरमात्र सरकार बन्ने अवस्था छ । जसपा र जनमत पार्टीको आधार क्षेत्र भएकलो दुवैले मुख्यमन्त्री दाबी गरेका छन् । सत्ता गठबन्धनमा यसबारे सहमति गरेर आलोपालो हुनसक्ने सम्भावना छ । 

विशेष