News खेल

पेलेको फुटबल हेर्न गृहयुद्ध नै रोकिएको त्यो क्षण !

पेलेको फुटबल हेर्न गृहयुद्ध नै रोकिएको त्यो क्षण !

फुटबलका अद्भूत खेलाडी एडसन अरेन्टेस डो नासिमेन्टो उर्फ पेलेको निधन भएको छ। खेललाई कलात्मक र रोमाञ्चक बनाउन सिपालु पेलेको निधनसँगै फुटबलको एउटा युगको पनि अन्त्य भएको छ।

पेटको क्यान्सरसँग जुधिरहेका उनै पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनलाई २९ नोभेम्बरमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको थियो। उनको केमोथेरापीमार्फत् उपचार गरिएको थियो। तर, उनको स्वास्थ्यमा कुनै सुधार आउन सकेको थिएन। त्यसपछि केमोथेरापी बन्द गरी उनलाई दुखाइ कम गर्ने औषधि दिइएको थियो। उनको मिर्गौला र मुटुमा पनि समस्या थियो।

एडसन अर्थात् पेलेलाई ‘डिको’ उपनाम पनि दिइएको थियो। ९÷१० वर्षको उमेरमा पेलेले आफ्ना साथीहरूलाई अद्भूत कलाकौशल देखाउन थालिसकेका थिए। सानैदेखि पाएको फुटबल ज्ञानका कारण सडकमा पेलेको विशेषताको चर्चा हुन थाल्यो। उनमा यस्तो प्रतिभा थियो कि बललाई खुट्टा, घुँडा, छाती र टाउकोमा घुमाएर भुइँमा खस्न दिँदैनथे। सडकमा फुटबल खेलेको भन्दै उनलाई पटक–पटक गाली गरिन्थ्यो, कुटाइँसमेत खाए।

सान्तोस क्लबमा आएपछि मात्रै उनलाई पेलेको नामबाट बोलाउन शुरू गरिएको हो। सान्तोसले १६ वर्षको उमेरमा सिर्जना गरेको ‘पेले ब्रान्ड’ करिब ६ दशकसम्म चम्किरह्यो। उनले क्लब करिअरमा १२ सयभन्दा बढी गोल गरे। तर, फुटबलको सर्वोच्च निकाय फिफाले ७८४ गोलको मात्रै मान्यता दिएको छ। उनले ३७ खेलमा ६६ गोल गरे।

सन् १९६० को दशकमा पेलेको सान्तोस फुटबल क्लब विश्वको सबैभन्दा चर्चित क्लबमध्येको एक थियो। यसको फाइदा उठाउँदै यो क्लबले विश्वभर धेरै मैत्रीपूर्ण खेल खेल्ने गर्थ्यो। यस्तै खेल नाइजेरियाको युद्धग्रस्त क्षेत्रमा सन् १९६९ फेब्रुअरी ४ मा खेलाइएको थियो। यो खेलमा सान्तोस क्लबले बेनिनि सिटीको एक स्थानीय क्लबलाई २–१ ले हराएको थियो। 

त्यतिबेला नाइजेरियामा रक्तपातपूर्ण गृहयुद्ध चलिरहेको थियो। इतिहासकार ग्युहरमे गोरचेका अनुसार ब्राजिलका खेलाडी र अधिकारीहरु सुरक्षाको विषयलाई लिएर चिन्तित थिए। त्यसैले दुवै पक्षले युद्धविरामको निर्णय गरेका थिए। यो कहानीको सत्यताबारे धेरैले फरक फरक कुरा उल्लेख गरेका छन्। पेलेको पहिलो आत्मकथा सन् १९७७ मा पहिलोपटक प्रकाशित भएको थियो। तर उनले यो घटनाबो केही लेखेका थिएनन्। 

यद्यपि ३० वर्षपछि प्रकाशित दोस्रो आत्मकथामा उनले यसको चर्चा गरेका थिए। उक्त पुस्तकमा खेलाडीहरुलाई ‘गृहयुद्धको एक झलक खेलको लागि अन्त्य हुन सक्छ’ भन्ने बताइएको उल्लेख गरेका छन्।

पेलेले लेखेका छन्, ‘मलाई यो थाहा छैन कि यो पूर्णरुपमा सही हो वा होइन। तर नाइजेरियाले जुन समयमा हामी त्यहाँ थियौं, त्यसबेला कुनै पनि घुसपैठ नहुने सुनिश्चितता गरेको थियो।’ पेले, डिएगो म्याराडोना र अहिलेको लियोनेल मेस्सीमध्ये को महान् खेलाडी भन्ने बहस वर्षौंदेखि फुटबल जगतमा चलिरहेको छ। म्याराडोनाले दुई वर्षअघि विश्वलाई अलबिदा भनिसकेका छन्। उनकै देशका अर्का स्टार मेस्सीले दुई साताअघि विश्वकप जित्ने आफ्नो सपना पूरा गरेका छन्। 

सन् २०२० मा बीबीसी स्पोर्ट्स पोलमा उनलाई सबैभन्दा महान् घोषणा गरिएको थियो।

यो पनि,

विशेष