News खेल

ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेले २१ वर्ष लामो फुटबल करियरमा १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् ।

पेले १९५८, १९६२ र १९७० मा गरी तीन पटक विश्वकप उपाधि जितेका एकमात्र फुटबल खेलाडी हुन् । उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानितसमेत भएका थिए ।

पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए । उनले १९५८ मा ब्राजिललाई वर्ल्डको उपाधि दिलाउन अहम् भूमिका निर्वाह गरेका थिए । क्वाटर फाइनलमा वेल्सविरुद्ध जितका लागि एकमात्र निर्णायक गोल उनैले गरेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध पेलेले ह्याट्रिक गरे र फाइनलमा स्वीडेनविरुद्ध उनले दुई गोल जितेर विश्वकपको उपाधि दिलाए ।

उनले फुटबल खेल्न भने १५ वर्षको उमेरमा सेन्टोस क्लबबाट सुरु गरेका थिए । डेब्यू खेलमा उनले पहिलो गोल गरेका थिए । त्यसपछि १९ वर्षसम्म उनले त्यसै क्लबबाट खेले र कूल ६४३ गोल गरे । यद्यपि सेन्टोस क्लबले भने क्लबका लागि पेलेले एक हजार भन्दा बढी गोल गरेको दाबी गर्दछ । 

उनको निधनमा विश्वभरबाट शोक व्यक्त भइरहेको छ । कतार वर्ल्र्ड कपको विजेता अर्जेन्टिनी फुटबलर मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।
 

विशेष