News

गठबन्धनलाई अन्तर्घात गरेको कलंक बोकेर कसरी बन्लान गगन थापा प्रधानमन्त्री ?

गठबन्धनलाई अन्तर्घात गरेको कलंक बोकेर कसरी बन्लान गगन थापा प्रधानमन्त्री ?

कांग्रेस महामन्त्री एवम् काठमाण्डौँ–४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गगन थापाविरुद्ध कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध संगठित रुपमा असहयोग गरेको उजुरी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग मिलेर थापाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरेको उजुरी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुगेको चर्चा छ । 

स्रोतका अनुसार कांग्रेसका तीन जना पराजित उम्मेदवारहरुले देउवासँग भेटेरै गगन थापाले स्वतन्त्र पार्टीसँग मिलेर गठबन्धनका उम्मेदवार विरुद्ध अन्तर्घात गरेको भन्दै उजुरी गरेका हुन् । नेकपा माओवादी केन्द्रका नेताले पनि नेपाली कांग्रेसले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)सँग साझेदारी गरेको आरोप लगाउने गरेका छन् ।

स्रोतले जनाए अनुसार गगन थापा विरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालरुष्ट छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले त अन्तरवार्ताकै क्रममा कांग्रेसको एउटा समुहले माओवादीमाथि गद्दारी गरेको आरोप लगाएका छन् । कांग्रेसको शेखर–गगन समूहले माओवादी केन्द्रलाई भोट नहाल्न तलसम्म निर्देशनै दिएको उनको आरोप छ।

नेकपा माओवादी केन्द्रका युवा नेता दीपशिखाले नेपाली  कांग्रेसका महामन्त्री गगन थापालाई ‘कालो कांग्रेस’ भन्दै घोचपेच समेत गरेका छन् । दीपशिखा लेख्छन्, ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्ज्वल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– ‘म कालो कांग्रेस हुँ ।  हो रहेछ, तपाई र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना ।’ उनले अगाडि थपेका छन्, ‘हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।’

यतिमात्रै होईन, गगन थापाको डिजाईनमा प्रत्यक्षतर्फ घण्टीमा मत गएपछि समानुपातिकतर्फ पनि कांग्रेसको एक समुहले घण्टीमै मत हालेको विश्लेषण कांग्रेस र माओवादी भित्र हुन थालेको छ। समानुपातिकतर्फ नेपाली कांग्रेस र नेकपा माओवादीको भोट कम हुनुमा थापाकै डिजाईनले काम गरेको केही नेताले आरोप लगाएका छन् ।

काठमाण्डौँ २ मा माओवादीकी उम्मेदवार ओनसरी घर्तीलाई कांग्रेसको मत नखस्नुलाई थापासँग जोडेर हेरिएको छ। काठमाण्डौं–२ मा स्वतन्त्र पार्टीबाट सोविता गौतम निर्वाचित भएकी छन् ।

काठमाण्डौँ–६ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीमसेनदास प्रधानले सबैभन्दा पहिला देउवालाई भेटेर थापाले संगठित रुपमा असहयोग गर्दा आफूले पराजय भोग्नु परेको गुनासो गरेका छन् । अघिल्लोपटक त्यहीँबाट चुनाव जितेका प्रधान यसपटक तेस्रो भए भने स्वतन्त्र पार्टीका शिशिर खनालले चुनाव जिते।

चितवन २ बाट उम्मेदवारी दिएका उमेश श्रेष्ठले पनि थापा समूह स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिताउन लागेको जानकारी सभापति देउवालाई गराएका छन् । त्यहाँ लामिछाने ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठ १४ हजार ९८८ सहित दोस्रो र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ५२ मतसहित तेस्रो भए ।

नवलपरासी पश्चिम १ बाट उम्मेदवार भई जितेका कांग्रेस उम्मेदवार विनोद चौधरीले पनि थापा समूहले स्वतन्त्र पार्टीसँग मिलेर अन्तर्घात गरेको दाबी सभापति देउवासँग गरेका छन् । त्यहाँ स्वतन्त्र पार्टीले महेन्द्र सिंह ठकुरीलाई उम्मेदवार बनाएको थियो । उनी १२ हजार ४९९ मत ल्याएर तेस्रो भएका छन् ।

थापा समूहको सहयोगका कारण कांग्रेसको भोट ठकुरीलाई गएको गुनासो चौधरीले देउवासँग गरेका छन् । त्यहाँ चौधरी २९ हजार ५१९ मतसहित निर्वाचित हुँदा एमालेले समर्थन गरेको जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत पाएका छन् ।

काठमाडौँ १ मा कांग्रेसबाट जितेका प्रकाशमान सिंहले थापाकै सहयोगमा जितेको चर्चा कांग्रेसभित्र छ । सिंहले थापालाई संसदीय दलको नेतामा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि मात्रै उनले चुनावमा सहयोग गरेको दाबी विश्वस्त स्रोतले ग¥यो ।

काठमाडौँ १ को चुनावमा खटिएका कांग्रेसका एक कार्यकर्ताले भने, ‘गगनलाई दलको नेतामा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि मात्रै सिंहले जित्ने अवस्थामा बनेको हो । अन्यथा भन्न सकिँदैनथ्यो ।’

काठमाडौँ १ मा सिंहले जम्मा १२५ भोटले राप्रपाका रविन्द्र मिश्रलाई जितेका हुन् । सिंहले ७ हजार १४३ मत ल्याउँदा मिश्रले ७ हजार १८ मत पाए । स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५ मत ल्याएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र ७ मा गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली निर्वाचित भएका छन् । त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र ८ मा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिभक्त श्रेष्ठ निर्वाचित भए।

ललितपुरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर जबरा निर्वाचित भइरहँदा सँगैको क्षेत्र ३ मा भने पम्फा भुसाल पराजित भइन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले भुसाललाई पराजित गरेकी छन् ।

यो सवै आरोप र उजुरीसँगै प्रधानमन्त्रीको दावी गरिरहेका थापा अप्ठ्यारोमा पर्ने सम्भावना छ। उजुरी गर्न पुगेका सबैले थापाको निर्वाचन क्षेत्र काठमाडौँ ४ मा स्वतन्त्र पार्टीको उम्मेदवार नहुनुलाई गम्भीरतापूर्वक उठाएका छन् । एक नेता भन्छन्, ‘गगनजीकै क्षेत्रमा स्वतन्त्र पार्टीको उम्मेदवार नहुने अरु क्षेत्रमा भएका उम्मेदवारले कांग्रेससमेत उल्लेख्य भोट काट्ने अवस्था कसरी बन्यो? भन्ने उहाँहरुको भनाइ छ । गगनजीले अरु निर्वाचन क्षेत्रका चुनावीसभामा सम्बोधन गर्न पटक पटक आग्रह गर्दा पनि अस्वीकार गर्नुभएको रहेछ ।’

देउवाले भने गगनविरुद्ध उजुरी गर्न जानेहरुलाई यसबारेमा पार्टीमा छलफल हुन्छ भनेर आश्वासन दिएका छन् । आगामी सरकारको नेतृत्व गर्ने सबैभन्दा बलियो दाबेदार नेपाली कांग्रेस नै हो। पार्टीमा गगन र देउवासहित धेरै नेता प्रधानमन्त्रीको दौडामा छन्। तर, प्रकृया मिल्दा सवैभन्दा रुचाईएका उम्मेदवार गगन थापा नै हुन।

थापाविरुद्ध पार्टीभित्रैबाट उजुरी परेसँगै उनको प्रधानमन्त्रीको दौडमा ठुलो धक्का पुगेको विश्लेषण हुन थालेको छ । गगनले चुनावमा रबी लामिछानेको पार्टीसँग साँठगाँठ गरेर गठबन्धनका र आफ्नै दलका उम्मेदवारलाई हराउने षड्यन्त्र गरेको उजुरीले देउवालाई संसदीय दलमा चुनिनदेखि गठबन्धनको विश्वास जित्न थप सहज हुने देखिन्छ ।

नभए, देउवालाई युवा महामन्त्री गगन थापाले यसपालि चुनौती दिने आँकलन गरिएको थियो । विगत लामो समयदेखि आन्तरिक तयारीमा लागेका थापा पछिल्लो समय जसरी पनि प्रधानमन्त्रीमा भिडेरै छोड्ने मनशायमा देखिन्छन् । थापाले आफू प्रधानमन्त्रीको दाबेदार भन्दै गएको मंसिर ४ को निर्वाचनमा समेत मत मागेका थिए । कांग्रेस महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिने बताएका छन् ।

यो पनि,

गगन थापा अन्तर्घात

विशेष