News

दलको नेता बन्न नपाएपछि उपेन्द्रसँग विच्किए अशोक राई, पार्टी विभाजनको तयारी

दलको नेता बन्न नपाएपछि उपेन्द्रसँग विच्किए अशोक राई, पार्टी विभाजनको तयारी

सप्तरी क्षेत्र नं. २ बाट संघीय निर्वाचन हारेपछि ठुलो धक्का ब्यहोरेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संघीय परिषद अध्यक्ष अशोक राई समुहले अर्को झट्का दिने तयारी गरेको छ।

अशोक राई समुह पार्टी विभाजन गर्ने तहमा तयारीमा जुटेको छ। राई समूह संसदीय दल र केन्द्रीय समितिमा ‘मोर्चाबन्दी’मा लागेको छ। पहिलो वरीयतामा रहेका राईलाई अध्यक्ष यादवले संसदीय दलको नेता बन्न अवरोध गरेपछि पार्टी भित्र विवाद तिव्र रुपमा चुलिएको छ।

राई सर्वसम्मत रुपमा दलको नेता वन्ने तयारीमा थिए। तर, उपेन्द्र यादवले आफना विश्वास पात्र राम सहाय यादवलाई दलको नेतामा अगाडि सारेपछि राई विच्किएका छन्। जसका  कारण राई पछि हटे र गत बुधवार संसदीय दलको नेतामा पार्टीको राजनीतिक समिति सदस्य यादव निर्विरोध भए। 

संसदीय दलको निर्वाचनको लागि गठित निर्वाचन समितिले रामसहायको एकल उम्मेदवारी परेकोले उनी सर्वसम्मत निर्वाचित भएको सूचना सार्वजनिक गरेको थियो। राईसहित उनीनिकट सांसदले कुनै प्रतिवाद गरेनन्। तर, यस्तो परिस्थितिको आकलन पहिले नै गरेको राई निकट एक नेताले बताए। 

संसदीय दलको नेता बनेका रामसहाय कार्यकारी अध्यक्ष उपेन्द्र निकटका नेता हुन्। उनले संसदीय दलको नेताका लागि चुनाव लड्ने बताएपछि राईले मैदान छाडेका थिए। उपेन्द्रकै योजनामा रामसहाय अगाडि सरेकाले राई पछि हटेको पार्टीका एक नेताको भनाइ छ।

रामसहाय मधेशी जनाधिकार फोरम स्थापनादेखि नै उपेन्द्रका विश्वासपात्र हुन्। पार्टी पटक–पटक विभाजन हुँदा हरेकपटक उनी उपेन्द्रसँगै छन्। शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारमा मन्त्री आलोपालो गर्न दबाव बनेपछि उपेन्द्रलाई विवाद मिलाउन सहज हुने गरी रामसहायले वन तथा वातावरण मन्त्री छाडेका थिए। त्यसपछि प्रदीप यादव मन्त्री बनेका थिए।

निर्वाचनअगाडि राई उम्मेदवार बन्ने वा नबन्ने नश्चित थिएन। जसपाका कतिपय नेताले राई एमालेमा जाने पनि बताएका थिए। तर निर्वाचनको लागि उम्मेदवारी मनोनयनभन्दा एक दिनअगाडि जसपाले एमालेसँग तालमेल गरेपछि उनी सुनसरी–१ बाट उम्मेदवार बने र एमालेको सहयोगमा विजयी भए। 

पार्टी स्रोतका अनुसार चुनावी गठबन्धका लागि उनले बढाएको प्रयास सफल हुने भएपछि मात्र एमाले पस्ने तत्कालीन योजना रोकेका थिए। तर, चुनावमा पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्रलाई सप्तरी–२ मा एमालेले साथ दिएन। 

निर्वाचनपछि मंसिर १८ गते पार्टी अध्यक्ष उपेन्द्रले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै चुनावपछि एमालेसँग आफ्नो दलको सहकार्य सकिएको बताए। यस्तो अभिव्यक्ति दिएर सप्तरी–२ मा एमालेले साथ नदिएको रोष उपेन्द्रले पोखे। लगत्तै अर्को दिन मंसिर १९ गते राईले उपेन्द्रको भनाइ व्यक्तिगत भएको बताए।

निर्वाचन अघिबाटै शुरू भएको राई र यादव टकराव निर्वाचन सम्पन्न भएपछि अझ प्रष्ट रुपमा देखियो। त्यसमाथि संसदीय दलको नेता बन्ने बाटो थुनेर उपेन्द्रले पहिलो वरीयताका अध्यक्षलाई पार्टीमा कमजोर बनाएको राई पक्षका नेता बताउँछन्।

संघीय परिषद् अध्यक्ष राईलाई सिरहा–२ बाट जितेका राजकिशोर यादव र पर्सा–१ बाट जितेका प्रदीपलगायतले साथ दिएका छन्। उनीहरू थप सांसदलाई आफूतिर तान्ने र संसदीय दल तथा केन्द्रीय समितिमा ४० प्रतिशत पु¥याएर जसपा विभाजन गर्ने योजनामा रहेको स्रोतको दाबी छ। 

प्रतिनिधिसभामा १२ सांसद भएको जसपाले प्रत्यक्षमा सात र समानुपातिमा पाँच सिट हासिल गरेको छ।
 

विशेष